वन तथा वातावरण संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री संजयकुमार यादवले वन तथा वातावरण क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई तीनै तहका सरकारसँग समन्वय गरेर कार्य गर्न आग्रह गरेका छन्।
वेलायत सरकारको सहयोगमा सञ्चालित रेन परियोजनाअन्तर्गत जनकपुरधाममा आयोजित प्रदेश समन्वय बैठकको उद्घाटन गर्दै मन्त्री यादवले जलवायु परिवर्तन, जैविक विविधताको संरक्षण र चुरे क्षेत्रको विनाश रोक्न सरकारले मात्र पर्याप्त पहल गर्न नसक्ने बताए। उनले यस्ता चुनौती समाधानका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक भएको उल्लेख गरे।
“विश्वव्यापी रूपमा बढ्दो वातावरणीय समस्याको प्रभाव नेपालमा पनि स्पष्ट देखिएको छ,” मन्त्री यादवले भने, “यस्ता समस्यासँग जुध्न हामी सबैले मिलेर अगाडि बढ्नुपर्छ।”
उनले नदी तथा खोलानालाको सफाइ, वन्यजन्तु संरक्षण तथा पर्यावरण सन्तुलन जस्ता विषयमा युवाको सक्रिय भूमिका अनिवार्य रहेको बताए।
कार्यक्रममा मधेश प्रदेश वन निर्देशनालयका निर्देशक जगरनाथ प्रसाद जयसवालले बाढी, पहिरो लगायतका वातावरणीय जोखिमबाट स्थानीय समुदायलाई सुरक्षित राख्न र समयमै सूचना पुर्याउन रेन परियोजनाको योगदानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
जनकपुर वनप्राविधिक समाजका अध्यक्ष रामस्वार्थ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका वन संयोजक सुजितकुमार झाले प्रदेशको वन तथा वातावरण क्षेत्रमा रहेका समस्या, चुनौती र सम्भावनाबारे धारणा राखे।
रेन परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवका अनुसार, परियोजना मधेश प्रदेशका रौतहट, सर्लाही, धनुषा, सिरहा र महोत्तरीका १६ पालिकामा बाढी, पहिरो तथा वातावरणीय समस्याबाट प्रभावित समुदायमा सुरक्षा तथा सचेतना अभिवृद्धिमा कार्यरत छ।
कार्यक्रममा लिवर्डका संयोजक हरिकृष्ण भट्टराईले परियोजनाको प्रगति विवरणसहित कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, विभिन्न संघसंस्था तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।






