क्यानडाद्वारा अमेरिकी प्रविधि फर्महरूमाथिको कर लगाउने घोषणा फिर्ता

एएफपी । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई असर पार्ने करहरू फिर्ता लिने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले अमेरिकी टेक कम्पनीहरू अल्फाबेट र अमेजनमाथि कर लगाउने घोषणा गरेपछि दुई देशबीचको व्यापार वार्ता रद्द गर्ने बताएका थिए । ट्रम्पको उक्त घोषणा लगतै क्यानडाले आफ्नो निर्णय फिर्ता लिएको हो ।

गत वर्ष लागू गरिएको डिजिटल सेवा करले अल्फाबेट र अमेजनजस्ता अमेरिकी सेवा प्रदायकहरूले सोमबारसम्ममा क्यानडामा अर्बौं डलरको भुक्तानी गर्नुपरेको विश्लेषकहरूले बताएका छन्।

वासिङ्टनले यसअघि करको विषयमा विवाद समाधान गर्न वार्ताको लागि अनुरोध गरेको थियो तर शुक्रवार राष्ट्रपति ट्रम्पले करको बदलामा ओटावासँगको व्यापार वार्ता अन्त्य गर्न लागेको बताएका थिए ।

ओटावाले यो करसम्बन्धी घोषणालाई आइतबार खारेज गरेको छ, जुन पाँच वर्षमा ५९ अर्ब क्यानडेली डलर (करिब ४२ अर्ब अमेरिकी डलर) ल्याउने अनुमान गरिएको थियो।

संयुक्त राज्य अमेरिकासँग व्यापक पारस्परिक लाभप्रद व्यापार व्यवस्थाको प्रत्याशामा क्यानडाले डिजिटल सेवा कर (डीएसटी) खारेज गर्ने घोषणा क्यानडाका अर्थमन्त्री फ्राँस्वाँ फिलिप स्याम्पेनले गरे ।

ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सन् २०२५ को जुलाई २१ सम्ममा सम्झौतामा सहमति जनाउने उद्देश्यले वार्ता पुनः सुरु गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

यसबारे ह्वाइट हाउस वा अमेरिकी राष्ट्रपति ट्रम्पको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

क्यानाडा संयुक्त राज्य अमेरिकालाई विदेशी इस्पात र आल्मुनियमको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

गत हप्ता कार्नीले यदि ३० दिनभित्र द्विपक्षीय व्यापार सम्झौता हुन नसकेमा ओटावाले अमेरिकी स्टील र आल्मुनियममा आफ्नो २५ प्रतिशत प्रतिशोधात्मक कर वृद्धि गरी अमेरिकी धातुमा कर दोब्बर गरी ५० प्रतिशत पुर्‍याइने बताएका थिए ।

प्रतिक्रिया