सुनचाँदी व्यवसायीको माग जायज, सरकारले तुरुन्त समाधान खोज्नुपर्छ : कांग्रेस नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले देशभर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरूको माग उचित भएको बताएका छन्।
मंगलबार जनकपुरधाम आएका निधिले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले व्यवसायीहरूको माग तुरुन्त सम्बोधन गर्नुपर्ने बताए। उनले सुनचाँदीलाई विलासिताको वस्तुको रूपमा कर लगाउनु गलत भएको बताए।
“सुन भनेको विलासिता होइन। यसलाई त्यसरी करको दायरामा ल्याउनु अहिले ठीक होइन,” नेता निधिले भने।
उनले सरकारलाई व्यवसायीहरूको माग समाधान गर्न विशेष कार्यदल बनाएर छलफल र समाधानको प्रक्रिया अगाडि बढाउन सुझाव दिए। उनका अनुसार व्यवसायीहरूले उठाएका मुख्य दुइटा माग जायज छन् र ती समाधान गर्न सकिने खालका छन्।
निधि धनुषा र महोत्तरीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका हुन्। उनले यसअघि काठमाडौँमै व्यवसायीहरूको प्रतिनिधिमण्डलसँग भेट भएको र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि यसबारे जानकारी गराइसकेको बताए।
“सरकारले व्यवसायीहरूको आवाज बुझ्नुपर्छ र समाधानको बाटो खोल्नुपर्छ,” निधिले जोड दिए।






