असारमा यस्तो काम गर्दैछन् बलवाका मेयर मुखिया जी!

महोत्तरी। सामान्यतया असार मसान्ततिर स्थानीय जनप्रतिनिधिहरू आर्थिक वर्षको अन्त्यमा बजेट सकाउन ‘असारे विकास’ मा व्यस्त देखिन्छन्। तर महोत्तरीस्थित बलवा नगरपालिकाका मेयर राम विजय महतो (मुखिया जी) भने फरक शैलीमा अघि बढिरहेका छन्। उनले बजेट सकाउने होडभन्दा पनि नगरवासीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरू सञ्चालनमा तिब्रता दिएका छन्।
मेयर महतो शुक्रबार नगरपालिकाका तीनवटा महत्वपूर्ण कार्यक्रमहरूमा सहभागी भए।
पहिलो उनले बलवा नगरपालिकाका सबै ११ वडालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा’ गर्दै औपचारिक रूपमा नगरस्तरीय पूर्ण खोप घोषणा गरे। यो घोषणासँगै बलवा नगरपालिका सबै वडामा नियमित खोप सेवा पुर्याउने नगरपालिकाको प्रतिबद्धता पुरा भएको छ।
त्यस्तै मेयर महतोले शुक्रबारै धमौरा स्वास्थ्य चौकीमा सुविधा सम्पन्न बर्थिङ सेन्टर (प्रसूति केन्द्र) को औपचारिक उद्घाटन गर्दै सञ्चालनमा ल्याए। यहाँबाट नगरका गरीब, दलित असहाय महिलाहरूले निःशुल्क तथा सुरक्षित सुत्केरी सेवा पाउने मेयर महतोको विश्वास छ।
त्यसैगरी उनले जनस्वास्थ्य प्रयोगशालाको पनि उद्घाटन गरी सेवा शुभारम्भ गरे। उक्त ल्याबमा नियमित स्वास्थ्य परीक्षणका लागि आवश्यक परीक्षण सेवा उपलब्ध हुनेछ। साथै ओटी सेवा अर्थात् शिघ्र कुपोषण व्यवस्थापन केन्द्र पनि सञ्चालनमा ल्याइएको छ।
यसअघि यस्तो सेवा बलवा स्वास्थ्य चौकीमा मात्र सीमित थियो। अब उक्त केन्द्रमार्फत ५ वर्षमुनिका गम्भीर कुपोषित बालबालिकालाई विशेष उपचारका रूपमा आरयूटीएफ अर्थात विशेष पोषणयुक्त हलुवा वितरण गरिने नगरपालिकाका स्वास्थ्य संयोजक यमुना प्रसाद यादवले जनाए।
उनले नगरभरीका सबै बालबालिकालाई सुपोषित बनाउने लक्ष्यअनुसार यो सेवा नियमित रूपमा सञ्चालन हुने बताए।