एमालेले भन्योः राजर्षि जनक विश्वविद्यालय स्थापनामा निधिको कुनै भूमिका छैन

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयको प्रसाशनिक भवन निर्माणको विषयमा सत्ताधारी दुई प्रमुख दल नेकपा एमाले र नेपाली काँग्रेसबीच आरोपप्रत्यारोप सुरु भएको छ ।

नेकपा एमालेले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणको अवरोधक आफूहरू नरहेको दाबी गरेका छन् ।

राजर्षि जनक विश्वविद्यालयको प्रसाशनिक भवन निर्माणको विषयमा शनिवार मात्रै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले निर्वाचन क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित सांसदले धनुषाको फूलगामामा विश्वविद्यालयको भवन बन्न नदिएको आरोप लगाएका थिए । जसको जवाफ दिँदै आइतवार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर एमालेका सचिव रघुवीर महासेठले विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा आफूहरूले अवरोध गरेको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लगाएको आरोप गलत रहेको दाबी गरे ।

उनले नेता निधिले राजर्षीजनक विश्वविद्यालयको भवन निर्माणको विषयमा जनतामा भ्रम फैलाएर खुरापाती गरिरहेको बताए ।

उनले राजर्षि जनक विश्वविद्यालयको स्थापनामा पनि निधिको प्रमुख भूमिका नरहेको बताए । ‘स्वर्गिय प्रदीप नेपाल शिक्षा मन्त्री रहेको बेला मेरै नेतृत्वमा विश्वविद्यालयको पहल भयो । र, स्थापना पनि भयो,’ उनले थपे ।

साथै उनले नेता निधिले प्रत्यक्ष निर्वाचित सांसदलाई महिला र पुरुष भनेर सम्बोधन गरेर आफूलाई के प्रमाणित गर्न खोजेका हुन् भन्ने थाहा नभएको भन्दै रिस पोखे ।

फरक प्रसंगमा नेता महासेठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय बनेपछि पार्टीमा कुनै खालको हलचल नभएको र नहुने बताए । पूर्वराष्ट्रपति कानून सम्मत नै पुनस् राजनीतिमा सक्रिय भएको र पार्टी अध्यक्षको सहमतिमै आउने उनको भनाई थियो ।

त्यस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सांसद एवं एमाले नेतृ जुली महतोले ३ र ४ नम्बर क्षेत्रका सांसदहरुले राजर्षीजनक विश्वविद्यालयको भवन निर्माण गर्न नदिएको नेता निधिको आरोपमा कुनै सत्यता नरहेको बताइन् ।

उनले २ महिना अघि मात्रै गुठी र विश्वविद्यालयको सहमतिमा भवन निर्माण गर्नेबारे निर्णय भएको पनि बताइन् । नेतृ महतोले भनिन्, ‘झुठको खेती गरेर अरुलाई बद्नाम गर्ने काम गरेर नेता निधिले आफूलाई स्वच्छ छविको भएको पुष्टि गर्न चलखेल गरिरहेका छन् । जुन जनताले पनि हेरिरहेको छ ।’

प्रतिक्रिया