मिथिला बिहारी नगरपालिकाको ४४ करोड बढीको बजेट सार्वजनिक

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु। ४४ करोड ८२ लाख ७ हजार ८८३ को बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको ११ औँ नगरसभा एक विशेष समारोहबीच सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख राजेन्द्रप्रसाद यादवले गरेका थिए भने मेयर यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उप–प्रमुख शोभा देवी साहले आर्थिक ऐन पढेर सुनाएकी थिइन्। नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, सशर्त तथा विशेष कार्यक्रमहरू समावेश गरिएका छन्। बजेटमा समावेशी, दिगो र प्रविधिमैत्री विकासमा जोड दिइएको छ।

आय विवरणतर्फ वित्तीय समानीकरण अनुदान (संघीय) १० करोड ४६ लाख, सशर्त अनुदान १८ करोड ६ लाख, राजस्व बाँडफाँड ९ करोड ५९ लाख २७ हजार ४२३, विशेष अनुदान ६८ लाख, सम्पूरक अनुदान २ करोड ९३ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड २९ लाख ८० हजार ४६० र आन्तरिक स्रोत करिब १ करोड ८५ लाख रहेको छ। व्यय विवरणअनुसार वडा तथा शाखा योजनाहरूमा २३ करोड १५ लाख ७ हजार ८८३, सशर्त कार्यक्रमतर्फ १८ करोड ६ लाख, सम्पूरक कार्यक्रमतर्फ २ करोड ९३ लाख र विशेष कार्यक्रमतर्फ ६८ लाख विनियोजन गरिएको छ।

बजेटले स्थानीय ऐन, कार्यविधि र नियमावलीहरू तर्जुमा तथा संशोधन गर्दै जनमैत्री कानून निर्माणमा सरोकारवालाको सहभागिता सुनिश्चित गरिने उल्लेख गरेको छ। साथै, विभेदजन्य घटनाको अनुगमन गरी दोषीलाई कारबाही गर्ने, सहिष्णुता र सद्भावका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्ने र दलित समुदायको सशक्तिकरणका लागि लक्षित कार्यक्रमहरू ल्याइने जनाइएको छ। प्रविधिमैत्री नगर निर्माणका लागि प्रत्येक वडामा स्मार्ट वडा अवधारणाअन्तर्गत डिजिटल सेवा केन्द्र र मोबाइल एप सञ्चालन गरिनेछ। नगर बायोमेट्रिक डाटाबेस निर्माण, नागरिकको डिजिटल पहिचान प्रणालीको विकास, युवा उद्यम कोषमार्फत स्टार्टअप र नवप्रवर्तनमा लगानी, मिथिला सांस्कृतिक संग्रहालयको स्थापना, विपद् व्यवस्थापनका लागि डिजास्टर रिस्पोन्स टिम निर्माण, महिला नेतृत्व विकास तथा प्रत्येक वडामा सीपमूलक तालिम सञ्चालन गरिने बताइएको छ।

बजेटले बालबालिकाको शिक्षा, पोषण, युवाको सीप र रोजगारी, महिलाको नेतृत्व विकास तथा ज्येष्ठ नागरिकको सम्मानमा प्राथमिकता दिएको छ।

नगरसभामा पूर्व मेयर अनिल यादव, पूर्व उप–मेयर अनिता साह, माओवादी केन्द्रका नगर अध्यक्ष प्रदीप साह, कांग्रेस नगर सचिव पवन यादव, जसपा अध्यक्ष रञ्जित यादव, मेयर प्रत्यासी सूर्य नारायण मण्डल, कार्यपालिका सदस्यहरू राम उदगार दास, प्रदीप यादव, कृष्ण बसन्त, बिमरोस यादव लगायत राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो। प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखा प्रमुख सुभाष झा, सूचना तथा प्रविधि अधिकृत लक्ष्मीनारायण यादव, शिक्षा शाखा प्रमुख रिमा झा लगायतका कर्मचारी तथा शाखा प्रमुखहरू कार्यक्रम व्यवस्थापनमा सक्रिय थिए।

प्रतिक्रिया