नेपाली काँग्रेसको १४ औं महाधिवेशन आज सुरु हुने

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनका लागि सबै आवश्यक तयारी पूरा भएको काँग्रेसले जनाएको छ ।

आज दिउँसो १ बजे काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्था तथा विदेशबाट गरी ४ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने बताइएको छ ।

महाधिवेशन उद्घाटनका लागि २ सय ५० जना अट्ने मञ्च बनाइएको छ । रातो र हरियो रङ्गले सजाइएको मञ्चको पहिलो लहरमा ४० जनासम्म कलाकारले एकैपटक प्रस्तुति राख्ने बताइएको छ । यसैगरी, दोस्रो लहरमा पार्टीका शीर्ष नेता तथा अन्य दलका प्रमुख र विदेशी पाहुना राख्ने गरी मञ्च व्यवस्थापन गरिएको काठमाडौं काँग्रेसका सभापति सबुज बानियाँले बताए । उनका अनुसार तेस्रो लहरमा पार्टीका केन्द्रीय सदस्य तथा अन्य अतिथिहरूलाई व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ ।

यसैगरी, मञ्च पछाडि एउटा एलईडी डिजिटल बोर्ड र दायाँबायाँसमेत गरी तीनवटा डिजिटल बोर्ड राखिएको छ । यस्तै भृकुटीमण्डप बाहिर सडकमासमेत दुईवटा डिजिटल बोर्ड राखिएको छ । महाधिवेशन उद्घाटन स्थलमा १ हजार स्वयंसेवक मञ्चको आसपासमा खट्ने छन् । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा नेता कार्यकर्तालाई स्वागत गर्न कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजुमा गरी १४ वटा स्वागतद्वार बनाइएको छ ।

यस्तै, महाधिवेशन स्थल भृकुटीमण्डप आसपासका विभिन्न स्थानमा १२ ओटा स्वागतद्वार बनाइएको छ । यस्तै महाधिवेशनमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतबाट महाधिवेशनस्थल तथा महाधिवेशनमा सहभागी प्रतिनिधि बसोबास गर्ने क्षेत्रहरूमा सुरक्षा व्यवस्था मिलाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले काठमाडौं प्रवेश गर्ने नाकामा राखिएका चेक प्वाइन्ट, महाधिवेशन स्थल र सहरका विभिन्न क्षेत्रमा खटाइने गरी नेपाल प्रहरीतर्फबाट मात्रै ५ हजारभन्दा बढी प्रहरी महाधिवेशनमा खटाइने जानकारी दिए ।

उनका अनुसार महाधिवेशन स्थलको निगरानीका लागि ठाउँठाउँमा सीसी क्यामेरा राखिएको छ भने ड्रोनबाटसमेत निगरानी गर्ने गरी व्यवस्था मिलाइएको छ । यस्तै, डिजिटल चेकद्वारा तथा मेटल डिटेक्टरको प्रयोग गरेर महाधिवेशन स्थलमा प्रवेश गर्नेहरूको चेकजाँच हुनेछ । यसैगरी, महाधिवेशन स्थलमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाटसमेत ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिइँदै छन् ।

सुरक्षाको भित्री तहमा नेपाल प्रहरीका सुरक्षाकर्मी रहनेछन् । मतदान र सभास्थललाई भित्री तहका रूपमा राखिएको छ । यसैगरी, दोस्रो तहमा राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीका सादा पोसाकका सुरक्षाकर्मी हुनेछन् । मतदान हुने भवन, होटल, र आसपासका क्षेत्रलाई दोस्रो तह मानिएको छ ।

यसैगरी, सशस्त्र प्रहरी भने सबैभन्दा अघि अर्थात् बाहिरी घेरामा हुनेछन् । महाधिवेशन स्थलको बाहिरी भाग तथा सडकमा सशस्त्रको सुरक्षाकर्मी हुनेछन् भने विदेशी पाहुना बसोवास गर्ने तथा अकासे पुलहरूमासमेत सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालित हुनेछन् ।

महाधिवेशन स्थलको सुरक्षाको कमान्ड महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले गर्नु हुनेछ भने निगरानीका लागि एआईजी पाल आफैं खट्नेछ ।

महाधिवेशनमा जनस्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्यकर्मी पनि परिचालन गरिनेछ । पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ । समितिमा चिकित्सक, नर्स तथा प्यारामेडिक्स गरी २६ जना रहेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर