किन गरियो मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा ?

जनकपुरधाम । मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीवार साँझको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकार आह्वान गरिएको छ ।

यसैगरी मन्त्रिपरिषदको बैठकले पर्साको वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ ।

खानेपानी सङ्कट समाधानमा आवश्यक सहयोग गर्न सङ्घीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमवाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ ।

प्रतिक्रिया