नीलगाई नियन्त्रणका लागि जैविक गन्धयुक्त औषधिको सफल परीक्षण

जनकपुरधाम । वर्षौंदेखि नीलगाई, बाँदर र बँदेल जस्ता वन्यजन्तुबाट हैरान मधेसका किसानका लागि जैविक गन्धयुक्त औषधिको सफल परीक्षण गरिएको छ।
धनुषाको मिथिला विहारी नगरपालिकामा अवस्थित मिथिला ‘वाइल्ड लाइफ’ ट्रष्टले यस्ता वन्यजन्तु नियन्त्रण गर्न जैविक गन्धयुक्त औषधिको सफल परीक्षण गरेको ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले बताएका छन्। यसका लागि करिब छ महिना लागेको उनले बताए।
उनका अनुसार गत पुसदेखि सुरु भएको अनुसन्धान जिल्लाका धनुषाधाम नगरपालिका, कमला नगरपालिका, बटेश्वर गाउँपालिका, जनकनन्दिनी गाउँपालिकाको तीन–तीन वटा किसानको खेतबारीमा अनुसन्धान गरी औषधि तयार पारिएको हो।
तामिलनाडु कृषि विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक गरेका सिरहाका सुमित झाको नेतृत्वमा सात जना प्राविधिक टोलीको सहयोगमा औषधि तयार गरिएको हो।
झासहित यस अनुसन्धानमा वातावरण विज्ञानका सचिनकुमार सिंह, वन्यजन्तु अनुसन्धान प्राविधिक अमरनाथ यादव, रविनन्दन ठाकुर, चालक–प्राविधिक सन्तोष महतो, प्राविधिक प्रदीप राम, गौतमराज मण्डल र सहजकर्ताका रूपमा अध्यक्ष मण्डलले सहयोग गरेका थिए। उक्त परीक्षणले खेतबारीमा नीलगाई प्रवेश न्यूनीकरण गर्न सकिने पुष्टि भएको अध्यक्ष मण्डलले बताए।
उक्त औषधि लसुन, माछाको फोहर, छाछ, असुरो, निर्गुण्डी, अकौन, बकाइन, धतुरा, बङ्गरेरा र गाईको गोबर जस्ता जैविक पदार्थबाट बनाइएको हो। औषधिमा गौमूत्र मिसाएर परीक्षणका क्रममा औषधि छरिएका खेतमा नीलगाई १२ देखि २८ दिनसम्म नदेखिएको वा देखिए पनि बाली नखाएको अध्यक्ष मण्डलको दाबी छ।
परीक्षणका क्रममा खेतमा स्वचालित क्यामेरा ट्रयाप जडान गरी वन्यजन्तुको गतिविधि निगरानी गरिएको थियो भने प्रत्यक्ष रूपमा किसान तथा टोलीका सदस्यले नियमित अनुगमन गरेको अध्यक्ष मण्डल बताउँछन्।
“यो औषधि पहिलोपटक सन् २०१६ मै तयार गरिएको थियो”, अध्यक्ष मण्डलले भने, “तर त्यसबेला नीलगाईलाई हामीले १७ दिनसम्म मात्र रोक्न सफल भएका थियौँ र पछि स्रोत र साधनको अभावमा परीक्षण रोकिएको थियो।”
यसपटक भने पीपल ट्री, लालोमलिना र लिली लिभ्सको प्राविधिक सहयोगमा परीक्षण गरिएको उनको भनाइ छ।
ट्रस्टका अध्यक्ष मण्डलले यो विधिलाई सामुदायिक प्रयोगका लागि खुला राखिने बताए। अनुसन्धानको अन्तिम प्रतिवेदन चाँडै सार्वजनिक गर्ने उनले बताए। शोधकर्ताले यो प्रयासले मधेसका किसानलाई राहत दिने र कृषि क्षेत्रलाई वन्यजन्तुबाट सुरक्षित राख्न योगदान पुग्ने विश्वास लिइएको अध्यक्ष मण्डलको विश्वास छ।






