काँग्रेस १४ औं महाधिवेशन : आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै, दुबै पक्षको उम्मेदवार तय हुन सकेन

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ ।

पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय सार्वजनिक गरिनेछ ।

त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन आयोगका सचिव केशव रिजालले बताए ।

मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि बिहान ११ बजेसम्म फिर्ता गरेपछि दिउँसो १२ ः १५ मा अन्तिम नामावली प्रकाशन गरिने उनले बताए । सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ ।

काँग्रेसले यसपटकको महाधिवेशनबाट नेतृत्त्वमात्रै चयन गर्नेछ । नीति अधिवेशन भने छुट्टै गर्ने जानकारी दिएको छ । यसअघि शुक्रबार नै सुरु भएको बन्दसत्रमा तीन वटा प्रतिवेदन पेस गरिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र राष्ट्रिय सभा गृहमा यतिबेला जारी छ ।

आजबाट निर्वाचन प्रक्रिया सुरु भएपनि संस्थापन पक्ष र इतर पक्षले अझैपनि उम्मेदवार तय गर्न सकेको छैन । संस्थापन पक्षबाट सभापतिसहित केही पदमा उम्मेदवार तय भइसकेको भएपनि अन्य पदमा तय हुन बाँकी नै रहेको छ । यस्तै संस्थापन इतर पक्षमा पनि हालसम्म उम्मे्दवार तय हुन बाँकी रहेको छ ।

शुक्रवारबाट सुरु भएको काँग्रेस महाधिवेशन २७ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया
नागरिक मिरर