काँग्रेस महाधिवेशनः उम्मेदवारी दर्ता गराउने क्रम जारी, अहिलेसम्मको अपडेट

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उम्मेदवारहरूले उम्मेदवारी दिने क्रम जारी छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नयाँ नेतृत्त्व चयनका लागि उम्मेदवारी दिने क्रम चलिरहेको छ ।

हालसम्मको अवस्थामा वर्तमान सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै नेता सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र विश्व प्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दिनेमा सह–महामन्त्रीमा तेजुलाल चौधरी, कमला पन्त, रामकृष्ण यादव, रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, अर्जुननरसिंह केसी, राजीवविक्रम शाह, अजयबाबु शिवाकोटी लगायतले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबीच, संस्थापन पक्षले प्रदेशबाट प्रतिनिधित्व गर्ने र समावेशीतर्फका केन्द्रीय सदस्यहरूको उम्मेदवार टुङ्ग्याएको छ ।

प्रदेश १ बाट अमृत अर्याल (मोरङ), आनन्द सन्तोषी राई (धनकुटा) र महिलामा महिन्द्र लिम्बु (झापा) लाई उम्मेद्वार भएका छन् ।

त्यस्तै प्रदेश २ बाट रमेश रिजाल (पर्सा), आनन्द ढुङ्गाना (धनुषा) र महिलामा चित्रलेखा यादव (सिरहा) उम्मेदवार बनाउने निर्णय भएको छ ।

बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित (काठमाडौँ), ध्रुव अधिकारी (नुवाकोट) र महिलामा उर्मिला केसी (ललितपुर) उम्मेदवार बन्ने भएका छन् ।

गण्डकीबाट ध्रुव वाग्ले (तनहुँ), सोभियतबहादुर अधिकारी (कास्की) र महिलामा सरस्वती तिवारी (स्याङ्जा), लुम्बिनीबाट देवेन्द्रराज कँडेल (नवलपरासी पश्चिम), चन्द्र केसी (गुल्मी) र महिलामा शिला शर्मा खड्का (दाङ) लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

त्यस्तै कर्णालीमा कणर्बहादुर बुढा (डोल्पा), राजीवविक्रम शाह (जाजरकोट) र महिलामा जानकी सिंह (सुर्खेत) तथा सुदूरपश्चिम प्रदेश सदस्यमा डा. रणबहादुर रावल (कैलाली), यज्ञराज जोशी (कञ्चनपुर) तथा महिलामा सुशीला भट्ट (कैलाली) लाई उम्मेदवार बनाइने भएको छ ।

प्रदेशबाट दुई पुरुष र एक महिला केन्द्रीय सदस्य बन्ने प्रावधान विधानमा छ ।

त्यस्तै मुस्लिम कोटाको केन्द्रीय सदस्यमा अब्दुल रज्जाक (रुपन्देही), अब्दुल सतार (गोरखा) र सुविदा खातुन (बर्दिया) लाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह (बझाङ) लाई उम्मेद्वार बनाउने निर्णय संस्थापनले गरेको छ ।

त्यस्तै अल्पसङ्ख्यक कोटामा प्रदीप सुनुवार (ओखलढुंगा) लाई उम्मेदवार बनाउने निणर्य संस्थापनले गरेको छ ।

अपाङ्गता कोटाबाट मदनकृष्ण श्रेष्ठ (भक्तपुर) लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।

यस्तै, शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुङ्गो लगाएको छ ।

शनिबार दिउँसो नेताहरूको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो ।

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसङ्ख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन् ।

उम्मेदवारी दर्ताका लागि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

विभिन्न गुटउपगुटबाट उम्मेदवारी दर्ता गराउने क्रम जारी छ ।

प्रतिक्रिया
नागरिक मिरर