पर्सामा पानी बाड्न मुख्यमन्त्री सिंहले पठाए बारुण यन्त्र

जनकपुरधाम। पर्सामा खानेपानीको हाहाकार भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पानी आपूर्तिका लागि बारुण यन्त्र पठाएको छ। बुधबार बिहान उनले नेपाली सेनाका पृतनापति कृष्ण जिसीलाई आठवटा बारुण यनत्र हस्तान्तरण गरी पर्सा पठाएको हो ।
उनले प्रदेश सरकारले खरिद गरेका आठवटा बारुण यन्त्र पानी आपूर्तिका लागि पर्सा पठाएको हो। यसअघि गत २८ गते मुख्यमन्त्री सिंहकै निर्देशनमा बारा, पर्सा र रौतहटका डिभिजन वन कार्यालयबाट तीनवटा बारुण यन्त्र पठाइएको थियो। यस्तै नेपाली सेनाबाट आठवटा बारुण यन्त्र पनि पानी आपूर्तिमा खटिन लागिएको जनाइएको छ।
मुख्यमन्त्री सिंहका अनुसार त्यहाँ पठाइएका १९ वटै बारुण यन्त्र स्थानीय प्रमुख जिल्ला अधिकारीको समन्वयमा पर्सामा पानीको अभाव भएको क्षेत्रमा परिचालन हुनेछ। उनले पानी आपूर्तिमा खटिएका नेपाली सेनाको लजिस्टिक र बारुण यन्त्रको इन्धन व्यवस्थापन प्रदेश सरकारले गर्ने बताए।
गत मंगलबार बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार स्थानीय तहका लागि खरिद गरिएका ती बारुण यन्त्र संकटको समयमा उपयोग गरिन लागेको हो।
मुख्यमन्त्री सिंहले पानीको समस्या समाधान नहुन्जेलसम्म बारुण यन्त्रमार्फत आपूर्ति जारी रहने जानकारी दिए।






