काँग्रेस १४ औं महाधिवेशन : आज ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
काठमाडौं । नेपाली काँग्रेसको जारी महाधिवेशन अन्तर्गत आज उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेको छ । उम्मेदवारी फिर्ताका लागि आज बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ ।
काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।
समितिले शनिवार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको थियो । जसअनुसार १ सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी परेको छ । सभापतिमा मात्रै ६ जनाको उम्मेदवारी परेको छ । जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन् ।
क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।
भोलि बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । राष्ट्रियसभा गृह, नेपाल पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने छ । मतदान मतपत्रमार्फत गर्नु पर्ने छ ।
मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७ सय ४३ रहेको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।