रुघाखोकीका बिरामीलाई डाक्टरले क्यान्सरको औषधि लेखिदिएपछि…

काठमाडौँ । भारतको राजस्थान राज्यमा सरकारी अस्पतालका चिकित्सकहरूले बिरामीलाई मनपरी औषधि सिफारिस गरेर स्वास्थ्यसँग खेलवाड गरेको खुलासा भएको छ ।
राजस्थानको महत्वाकाङ्क्षी स्वास्थ्य योजना राजस्थान हेल्थ स्कीम मातहत बिरामीलाई चिकित्सकहरूले सामान्य रुघाखोकी, टाउको दुखाई, ज्वरो जस्तो समस्यामा किड्नी फेल, मुटसम्बन्धी गम्भीर रोग र गर्भवती महिलालाई बाँझोपन हटाउने महँगो औषधि सिफारिस गरेको पाइएको हो ।
राजस्थानको अलवर जिल्लामा सञ्चालित उक्त योजना अन्तर्गत सरकारी चिकित्सकहरूले बिरामीलाई कमिसनको आडमा मनपरी महँगो औषधि सिफारिस गर्ने गरेको बुझिएको छ । जसमा सरकारी चिकित्सकका साथै मेडिकल स्टोर सञ्चालक र ल्याब सञ्चालकको पनि संलग्नता रहेको पाइएको छ । त्यसका साथै केही चिकित्सकहरूले बिरामीको चेकजाँच बिनै पनि औषधि सिफारिस गर्ने गरेको पनि भेटिएको छ ।
स्वास्थ्य विभागले गरेको अनुसन्धान पछि प्रमाणहरू फेला परे पछि ११ जना चिकित्सक र विभिन्न मेडिकल स्टोर सञ्चालकलाई नोटिस पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।






