जनकपुरमा युवकको हत्या गरेको अभियोगमा एकजना युवती पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरको एक होटलमा युवकको हत्या अभियोगमा एकजना युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्या अभियोगमा पक्राउ परेकी युवतीलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका वडा नं. ७ बनौटाकी २४ वर्षीया जुली झा रहेकी छिन् ।

शनिवार राति विमलेशलाई जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेको आरोप झा माथि छ । विमलेशको आइतवार बिहान ७ः४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

शनिवार राति ९ बजेर ५५ मिनेटमा विमलेश र जुली होटेलभित्र गएको, त्यसको करिब ५ घण्टापछि अर्थात् आइतवार बिहान २ बजेर ५७ मिनेटमा विमलेश नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको र लगत्तै जुली तल ओर्लेर भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद भएको आधारमा प्रहरीले जुलीलाई आइतवार दिउँसो पक्राउ गरेको थियो ।

प्रतिक्रिया