जनकपुरमा बढ्दो विकृति र युवा पुस्ताको चुनौतीः परिवर्तनको लागि आवश्यक सचेतना

मधेश प्रदेशको राजधानी जनकपुरधाम, जुन एक समय शिक्षाको केन्द्र र धार्मिक आस्थाको मुख्य केन्द्रबिन्दु मानिन्थ्यो । तर, हिजोआज जनकपुरधाम सामाजिक विकृति, अपराध र नैतिक पतनको दलदलमा फस्दै गएको देखिन्छ। माता सीताको पवित्र भूमि जनकपुरमा शान्ति र सद्भावको साटो गम्भीर विकृति, विसंगति जस्तै गाजा, दारु, वेश्यावृत्ति र ग्याङ फाइटको लहर जस्तै चलेको छ ।

धनुषा जिल्ला विगत केही वर्षदेखि वैदेशिक रोजगार तर्फ अग्रसर भए पनि, त्यसको छायाँमा अपराध, असामाजिक क्रियाकलापको केन्द्र बन्दै गएको पनि भान हुन्छ । धनुषा कुनैबेला शिक्षा क्षेत्रको लागि नमूना जिल्लाको रुपमा स्थापित थियो त्यहाँको शिक्षाको गुणस्तरमा कतिसम्म गिरावट आएको छ भन्ने पछिल्लो समयको एसईईको नतिजाले अनुमान लगाउन सकिन्छ।

यहाँ फस्टाइरहेका होटल, रेष्टुरेन्ट र क्याफेहरू मध्य धेरैजसो असामाजिक गतिविधिको अड्डा बनेका छन् । विशेषगरी किशोर(किशोरीहरू (१२ देखि २० वर्ष उमेर समुह) गलत संगत, नशा र ग्याङमा फसिरहेका छन्, जुन यहाँको भविष्यका लागि गम्भीर अवस्था हो।

गाउँबाट छोराछोरीलाई शिक्षित बनाउन सहर पसेका अभिभावकहरू न त राम्रो शिक्षा दिन सकिरहेका छन् न त आफ्नो सन्तानको भविष्य नै सुरक्षित गर्न सकिरहेका छन् ।

सरकारी तथा निजी विद्यालयहरूमा शिक्षा प्रणाली अस्तव्यस्त छ । यहाँका युवामा बढ्दो गलत अभ्यासका कारण उनीहरुका साथै जनकपुरको विकासको पनि चुनौती थपिँदै गएको छ ।

यहाँ करिब २०० भन्दा बढी पत्रकारहरू क्रियाशील भए पनि यहाँका विकृतिबारे गहिरो रूपमा प्रश्न उठाउन सकिरहेका छैनन् भन्ने अनुमान लगाउन सकिन्छ । कहिलेकाहीँ केही लेख र आवाज उठेपनि त्यो लामो समयसम्म टिक्दैन । युवा पुस्ता मौसमझैँ सक्रियता देखाउने तर निरन्तरता दिन सक्ने समस्या पनि उस्तै छ ।

अब प्रश्न उठ्छ – आखिर यो पवित्र भूमिलाई पवित्र राख्ने जिम्मा कसको हो ? राज्य, समाज, बुद्धिजीवी, पत्रकार वा हामी युवाहरूको ?

समस्या पहिचान मात्र होइन, समाधानको दिशामा अघि बढ्न अबको आवश्यकता हो । जनकपुरधाममा स्थायी परिवर्तन ल्याउन युवाहरूको सचेत सक्रियता, सशक्त नागरिक अभियान, स्वच्छ नेतृत्व र शिक्षा क्षेत्रमा सुधार अपरिहार्य छ।

अब समय आएको छ, माता सीताको भूमिलाई अपवित्र बनाउनुको साटो यसको अस्तित्व जोगाएर, स्वच्छ, शिक्षित र सभ्य बनाउने । त्यसका लागि युवाहरू मिलेर सामाजिक चेतना फैलाउने, नशा मुक्त अभियान सञ्चालन गर्ने, शिक्षामा सुधारका लागि दबाब सिर्जना गर्ने र सकारात्मक सक्रियता देखाउने बेला हो यो ।

जनकपुरधाम फेरि एकपटक ज्ञान, धर्म र संस्कृतिको उज्यालो केन्द्र बन्न सकोस् भन्ने कामना गर्दै, हामी सबैले आ–आफ्नो ठाउँबाट सशक्त पहल गर्नुपर्ने बेला आएको छ ।

प्रतिक्रिया