वीरगञ्जको घण्टाघरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त !

वीरगञ्ज (पर्सा) । औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्ज महानगर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आइरहेको छ । अत्यधिक तीनपाङ्गे्र अटोरिक्सा र जभाभावी बाटो काट्ने पैदलयात्रीका कारणले यहाँको ट्राफिक व्यवस्थापनमा दिनानुदिन समस्या थपिँदै आइरहेको छ ।

वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्रु जुनसुकै ठाउँबाट पनि बाटो काटिरहेको दृश्य सामान्य जस्तै लाग्छन् । पैदलयात्रीलाई सहज रूपमा वारपार गर्न राखिएका जेब्राक्रसको चिह्न मेटिएर देख्न पनि मुस्किल पर्ने गरेको छ । वीरगञ्ज मीनाबजारका सीताराम साह वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्री बेपर्वाह ढङ्गले सडक वारपार गर्ने बताउछन्।

“घण्टाघर चोकमा त सर्वसाधारण जहाँ मन लाग्यो । त्यहीबाट बाटो काटेको दृश्य सामान्यजस्तै लाग्छ”, उनले भने, “जसलाई जहाँबाट बाटो काट्न मन लाग्यो । त्यहीबाट बाटो काट्ने प्रवृत्तिले सवारीचालक हैरानी भोग्दै आइरहेका छन् ।” साहले वीरगञ्जको घण्टाघरचोक, नयाँ बसपार्कलगायत स्थानमा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउनुपर्ने बताए।

“सबैभन्दा पहिला त यहाँ सडकमा पर्याप्त मात्रामा जे्रबाक्रस बनाउन आवश्यक भइसकेको छ”, उनले भने, “घण्टाघरमा जडान भएको ट्राफिक लाइटले पनि काम गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या थपिरहेको छ ।” घण्टाघरचोकमा भएको जेब्राक्रसमा पनि बाँस राखिएको छ । जसले पैदलयात्रीलाई आवतजावत गर्न समस्या भइरहेको छ । सोही जेब्राक्रस भएकै ठाउँबाट सवारीसाधन चलाउने भएकाले बाँस राख्नुपरेको ट्राफिक प्रहरी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले सीमित जनशक्ति र पैदलयात्रीमा जनचेतनाको अभावको कारणले जभाभावी ढङ्गले बाटो काट्ने समस्या रहेको बताए। “घण्टाघरचोकमा वरपर रेलिङ नहँुदा पनि जभाभावी बाटो काट्ने सर्वसाधारणलाई नियन्त्रण गर्न मुस्किल परिरहेका छन्”, उनले भने, “भएका रोड फर्निचरहरू पनि नियमित रूपमा मर्मतसम्भार नहुँदा समस्या भइरहेको छ ।”

कार्यालयले घण्टाघरचोकमा ट्राफिक व्यवस्थापनको लागि दुई जना र जिल्ला प्रशासन कार्यालय पर्सा जाने मोडतर्फ थप एक गरी जना ट्राफिक प्रहरी खटाउँदै आइरहे पनि ट्राफिक नियमको पालना भने प्रभावकारी रूपमा हुन सकिरहेको छैन । पर्सा जिल्लामा गत आवमा सवारी दुर्घटनामा परेर ४७ जनाको मृत्यु भएको छ । जबकि आव २०८०÷८१ मा भने यहाँ जिल्लाभरिमा ५३ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । वीरगञ्ज महानगर र सडक विभागले पनि यहाँको ट्राफिक लाइट व्यवस्थापन र सञ्चालनमा भने ध्यान दिन सकिरहेको छैन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख राजकुमार सिलवालले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सीमित जनशक्तिको कारणले पनि समस्या भएको बताए। उनले भने, “पर्सामा कार्यरत १०–१५ जना प्रहरीको अन्य स्थानमा रवाना भइसकेको छ । सीमित जनशक्तिले पनि काम गर्न समस्या छ । यद्यपि हामीले जहाँजहाँ ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । सो ठाउँको समाधानका लागि आवश्यक कदम अघि बढाउनेछौँ ।”

प्रमुख सिलवालले सडकमा सवारीसाधन गुडाउने ठाउँमा बिहेको टेन्ट लगाउने खालका चुनौती रहेको पनि बताए। “ट्राफिक प्रहरीले कारबाही गर्दा पनि विभिन्न खालका गुनासा आउने गरेका छन्”, उनले भने, “ट्राफिक व्यवस्थापन ट्राफिक एकलको प्रयासले मात्र समाधान गर्न नसकिने रैछ । अन्य सरोकारवाला निकायले पनि उत्तिकै समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी भइसकेको छ ।” उहाँले पछिल्लो समय पथलैया क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सुधार गरेको दाबी गरे।

प्रतिक्रिया