काँग्रेस १४ औं महाधिवेशन : नयाँ नेतृत्त्वका लागि आज मतदान, सभापतिका लागि ५ जनाबीच प्रतिस्पर्धा हुने

काठमाडौं, २७ मङ्सीर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ ।

चार वर्षे कार्यकालका लागि अहिले बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन केन्द्रीय कार्यसमितिले जनाएको छ । समितिका सचिव केशव रिजालले मतदान साँझ ५ बजेसम्म हुने छ ।

नयाँ कार्यसमिति चयनका लागि १३ पदाधिकारीसहित १ सय ३२ पदका लागि मतदान भइरहेको उहाँले बताउनुभयो । मतदान सकिएलगतै आजै अबेर साँझबाट मतगणना सुरु हुने पनि उहाँले बताउनुभयो । १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये १ सय ३४ पदमा प्रत्यक्ष निर्वाचन हुनेछ ।

बाँकी रहेको पद भने सभापति निर्वाचित भएपछि मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ । सदस्य पदमा दुई जना भने हिजो नै निर्विरोध निर्वाचित भइसकेकाले १ सय ३२ पदमा आज मतदान भइरहेको छ ।

आज हुने मतदानबाट १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको चयन हुनेछन् । सभापति पदमा ५ जनाजना चुनावी मैदानमा छन् । जसमा वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

दुई उपसभापति पदमा ७ जनाको उमेदवारी परेको छ । जसमा महेश आचार्य, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र दिव्यश्वरी शाह छन् । दुई महामन्त्री पदमा ६ जना चुनावी मैदानमा उत्रेका छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, डा. राजाराम कार्की छन् ।

क्लष्टरमा रहेका ८ सहमहामन्त्री पदमा १९ जनाले चुनाव लड्ने भएका छन् । नयाँ कार्यकालका लागि ३५ खुला केन्द्रीय सदस्यमा ९९ जनाको उमेदवारी परेको छ । ९ जना खुला महिला केन्द्रीय सदस्यमा ३० जनाले उमेदवारी दिएका छन् । १ सय ६७ पदमा ५ सय भन्दा बढीको उमेदवारी परेको छ ।

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानले व्यवस्था गरेको छ ।

जारी महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७ सय ४३ कायम रहेको छ । महाधिवेशनका लागि १ हजार १ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको छ ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ÷शुभेच्छुक सङ्घ–संस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

भृकुटीमन्डपको प्राङ्गणमा प्रदेश नम्बर–२ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नम्बर–१, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २ सय ९३, भृकुटीमन्डप प्राङ्गणमा २ सय ९३ बुथ र भृकुटीमन्डपको हलमा ५ सय १४ बुथ राखिएको छ ।

प्रतिक्रिया
नागरिक मिरर