सर्प होइन भ्रष्टाचार हो समाजको असली ‘विष’

“सबै सर्प विषालु हुन्छन्” भन्ने धारणा गलत हो । तथ्याङ्कले भन्छ, संसारभर करिब २५% सर्प मात्रै विषालु हुन्छन्। बाँकी सर्प मानव जीवनका लागि मित्र हुन्, शत्रु होइनन् । उनीहरूले मुसा, भ्यागुता, चाहरू, किराफट्याङ्ग्रा खाएर प्राकृतिक सन्तुलन कायम राख्न मद्दत गर्छन्। तर, दुःखद यथार्थ के छ भने, नेपालमा सर्पभन्दा खतरनाक विष फैलाउने तत्त्व भ्रष्टाचार हो, जसले हरेक क्षेत्रमा विकृति फैलाइरहेको छ।

सर्पलाई देख्ने बित्तिकै हामी मानवजातीले त्यसको हत्या गर्ने प्रचलन जस्तै छ । तर, तीनै मानवजातीले हरेक सानोसानो कुरामा मनपरी भ्रष्टाचार गर्दा पनि चुप लागेर आँखा र मुख बन्द गरेर बस्छन्। अझ कतिपयले त तीनको संरक्षण नै गरिरहेका छन्।

नेपालमा करिब ७०% राष्ट्र सेवक कर्मचारी भ्रष्टाचारमा संलग्न रहेको विभिन्न अध्ययनले देखाएको छ। यसले देशको शिक्षा, स्वास्थ्य, न्यायजस्ता अत्यावश्यक सेवा प्रणालीलाई खोक्रो बनाइरहेको छ।

निःशुल्क र बिना शर्त पाउनुपर्ने अधिकार र सेवाका लागि पनि भ्रष्टाचार गर्नुपर्ने परम्परा बनिसकेको छ । जसले गर्दा सबै काम वा सेवा पैसा तिरेर मात्र पाइने र हुने नियम जस्तै बनिसकेको छ । हुने खानेदेखि निमुखा सबैका लागि भ्रष्टाचार परम्परा बनिसकेको छ। जसको सबैभन्दा ठूलो मार देशका गरिब र विपन्न वर्गमाथि परिरहेको छ।

सडक, पुल, अस्पताल, विद्यालय, मठमन्दिर, मस्जिद लगायत हरेक पूर्वाधार निर्माणमा गुणस्तरहिनता बढेको छ । योजना सुरु हुन्छ तर त्यो पूरा हुँदैन । इमान्दार व्यक्तिहरू पछाडि पारिन्छन्, भ्रष्टहरू पुरस्कृत गरिन्छन्।

न्याय प्रणालीमा भ्रष्टाचारले दोषीलाई सजायबाट जोगाउँछ, निर्दोषलाई फसाउँछ। यसले न्यायप्रति जनताको विश्वास घटाउँदै गएको छ । प्रशासन, अदालत र सुरक्षातन्त्रमा भ्रष्टाचारले गहिरो जरा गाडेको छ। नागरिकले सरकारप्रति विश्वास बढाउनुको साटो गुमाउँदै गएका छन्।

राजनीतिक अस्थिरता, विदेशी लगानीको कमी र पर्यटनमा गिरावट पनि भ्रष्टाचारकै उपज हुन्। कोही लगानीकर्ता भ्रष्ट देशमा लगानी गर्न चाहँदैन । मुलुकको छवि अन्तर्राष्ट्रिय स्तरमा खस्किसकेको छ।

यसैबीच, हिन्दू धर्ममा नाग पूजा गरिन्छ, नागपञ्चमीजस्ता पर्वहरूमा सर्पको सम्मान गरिन्छ। तर वास्तविकता के छ भने आज सर्पजस्तो जीवको संरक्षण गर्नुको सट्टा भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने प्रवृत्ति मौलाएको छ।

तर, यसमा दोषी कुनै एकपक्ष होइन, लिने र दिने अनि त्यो जानकारी भएर पनि चुप लागेर बस्ने सबै हुन्। त्यसैले जब तपाईंलाई आफ्नो अधिकार र सेवाका लागि निःशुल्क पाउनुपर्ने सेवा सुविधाका लागि पनि भ्रष्टाचार गर्नका लागि उक्साउने काम गर्छ भने त्यति नै बेला तपाईंले आवाज उठाउनुपर्छ।

पैसा दिएन भने काम हुँदैन भन्ने भ्रमबाट माथि उठेर समयमै त्यस्ता भ्रष्टाचार गर्नेविरुद्ध आवाज उठाउनुभएन भने त्यसले समाजलाई आउने दिनमा धमिराले जस्तै खोक्लो बनाइसक्छ। तपाईं आफ्नो समाज र देशलाई कस्तो बनाउनु चाहनुहुन्छ भन्ने कुरा तपाईंमा निर्भर हुन्छ। त्यसकारण तपाईंले अरुका लागि होइन आफ्नो लागि बोल्नुपर्छ।

त्यसैले अब समय आएको छ– हामी युवाले निर्णय गर्ने । सर्पजस्तो प्राणीलाई मार्ने की संरक्षण गर्ने ? भ्रष्टाचारीलाई संरक्षण दिने की कानूनी कारबाहीको दायरमा ल्याउने ? देश र समाज बाँचोस् भन्ने तपाईं चाहनुहुन्छ भने सर्प होइन भ्रष्टाचारविरुद्ध आवाज उठाउनका लागि अग्रसर हुनुस् । प्रकृतिको मित्र सर्पको संरक्षण गरौं, तर राष्ट्रका शत्रु भ्रष्टाचारको अन्त्य गरौं ।

यो प्रश्न अब पाठक वर्गकै जिम्मा हो – तपाईं कुन पक्षमा हुनुहुन्छ ?

प्रतिक्रिया