कोशी प्रदेशमा मैथिली र लिम्बु कामकाजी भाषा हुने

काठमाडौँ । कोशी प्रदेश सरकारले मैथिली र लिम्बु भाषालाई पनि कामकाजको भाषाको रुपमा मान्यता दिने भएको गरेको छ ।

शनिवार बसेको मन्त्रीपरिषद्को बैठकले कामकाजी भाषाको रुपमा नेपाली बाहेक अब मैथिली र लिम्बु भाषालाई पनि मान्यता दिइने निर्णय गरेको हो । भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको थियो । सोही अनुसार सरकारले विधेयक तयार गरेको हो ।

जस अनुसार आगामी कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसर पारेर लागु गर्नेगरी भाषा सम्बन्धी कानुन निर्माण गर्ने निर्णय गरिएको छ । ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

कोशी प्रदेशमा प्रतिपक्षी दलका सांसदहरुले भाषा सम्बन्धी विधेयक दर्ता गरेको थियो । तर त्यो विधेयक अघि बढेको छैन । सरकारले प्रतिपक्षीको विधेयकलाई छाडेर छुट्टै विधेयक ल्याएको हो ।

विधेयक पारित भएपछि प्रदेशमा नेपाली भाषाका अतिरिक्त लिम्बु भाषा र मैथिली भाषाले पनि सरकारी कामकाजको मान्यता पाउनेछन् । महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर आगामी कात्तिक २५ गतेबाट उक्त कानुन कार्यान्वयनमा जाने मन्त्री भण्डारीले जानकारी दिए ।

यस्तै बैठकले प्रदेशको नाम परिमार्जन गर्ने निर्णय गरेको छ ।

प्रदेशको आधिकारिक कागजात, लेटरहेड, बोर्डलगायत संरचनामा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको हो । यसअघि ‘प्रदेश सरकार,कोशी प्रदेश विराटनगर’ लेखिँदै आएको थियो ।

बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले नाम परिमार्जन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

‘त्यो (नाम) प्रदेशसभाले पास गरेको ऐन बमोजिम ठ्याक्कै मिल्ने गरी नदेखिएको हुँदा यसमा केही संशोधन जरुरी भएकाले अबदेखि कोशी प्रदेश सरकार विराटनगर नेपाल नामाङ्करण गर्नेगरी निर्णय भएको छ,’ उनले भने,‘ हाम्रा सबै लेटरहेड र साइनबोर्डमा राख्नेगरी भइरहेको नाम थोरै परिवर्तन गर्ने निर्णय भयो ।’

प्रतिक्रिया