सिटि रिक्सा लाइसेन्समा सहजता ल्याउन माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण

जनकपुरधाम। सिटि रिक्सा चालकलाई सजिलै लाइसेन्स दिलाउने व्यवस्था गर्नुपर्ने मागसहित मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सोमबार ध्यानाकर्षण पत्र बुझाइएको छ।

अभियन्ता दिवाकर उप्रेतीले जनकपुरधाम र वीरगञ्जमा कायापलट र बिकल्प संस्थाले सिटि रिक्सा सञ्चालन सम्बन्धी गरेको अध्ययन प्रतिवेदनसहित मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै कानुन निर्माणमार्फत लाइसेन्स प्रक्रिया सहज बनाउने पहल गर्न आग्रह गरेका हुन्।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री सिंहले सिटि रिक्सा सञ्चालनलाई व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै भने, “पढ्न नजान्ने चालकले पनि ट्रायल पास गरी लाइसेन्स पाउने व्यवस्था गर्न सकिने सम्भावनाबारे कानुनीरूपमा के गर्न सकिन्छ, त्यसबारे पहल हुन्छ।”

मुख्यमन्त्रीले सिटि रिक्सा चलाउने धेरैजसो व्यक्ति बाहिरी जिल्ला वा प्रदेश र भारत बिहारबाट पनि आएका हुनाले केही आपराधिक क्रियाकलापमा संलग्न हुने सम्भावना पनि देखिएको भन्दै अनियन्त्रित सञ्चालनलाई नियन्त्रण गर्न कानुनी संरचना आवश्यक रहेको धारणा राखे।

उप्रेतीले हालको प्रणाली अनुसार धेरै चालक ट्रायल परीक्षा पास गर्न सक्षम भए पनि साक्षरता अभावका कारण लिखित परीक्षा पास गर्न नसक्दा लाइसेन्सबाट वञ्चित भइरहेका बताए।

“यो पेशा जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको छ,” उनले भने, “अहिले त लाइसेन्स नखोजिए पनि भविष्यमा अनिवार्य हुने अवस्था आउँदा धेरै चालक र उनका परिवारको जीविका संकटमा पर्न सक्छ। त्यसैले यथाशीघ्र कानुन निर्माण आवश्यक छ।”

उनले मुख्यमन्त्री सिंहबाट कानुन निर्माणका लागि पहल हुने विश्वास व्यक्त गर्दै यसबाट सिटि रिक्सा चालकहरूको जीवनयापन सुनिश्चित गर्न मद्दत पुग्ने बताए।

प्रतिक्रिया