काँग्रेस पदाधिकारीलाई आज प्रमाणपत्र वितरण गरिने, केन्द्रीय समितिको बैठक पनि बस्दै
काठमाडौं । १४ औं महाधिवेशन पछि नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीसहितको केन्द्रीय समिति बैठक आज पहिलोपटक बस्न लागेको हो ।
पार्टी कार्यालय सानेपामा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठक अघि निर्वाचन समितिले पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा कोषाध्यक्ष र केन्द्रीय सदस्य मनोनीत गर्ने विषयमा छलफल हुने बताइएको छ । मङ्सिर २४ देखि २७ सम्म भएको काँग्रेसको १४ औं महाधिवेशनबाट १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
काँग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन् । १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय १० जना छन् । बाँकी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखरप्रसाद कोइराला पक्षका हुन् ।
निर्वाचनका क्रममा प्रदेश २ बाट आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध भएका थिए । काँग्रेस विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य बन्छन् ।
विधानअनुसार अब सभापति देउवाले कोषाध्यक्षसहित ३३ जना मनोनीत गर्न पाउनेछन् । त्यससँगै केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय हुनेछ ।