युवालाई जोड्न चुकेका स्थानीय सरकार

सन् १९९८ अगस्ट ९ देखि १२ तारिखमा संयुक्त राष्ट्रय सङ्घको समन्वयमा पोर्चुगलको राधानी लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्री ज्यूहरूको सहभागितामा ‘विश्व युवा सम्मेलन’ भएको थियो । त्यस सम्मेलनले आ–आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता जनाउनुका साथै युवा सशक्तिकरण पक्षमा ८८ बुँदे लिसवन घोषणापत्र समेत जारी गरेको थियो । त्यसपछि राष्ट्र सङ्घको आह्वानमा सन् २००० बाट विश्वभर हरेक वर्षको अगष्ट १२ का दिन युवा सशक्तिकरण, जागरण र बहस गर्ने महत्त्वपूर्ण दिनको रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।
सन् २०२५ को अगष्ट १२ मा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै छ र माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी ज्युको अध्यक्षमा बसेको मूल समारोह आयोजक समितिको बैठक मार्फत “दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागीताको समृद्धिको आधार” भन्ने नेपालीमा रुपान्तरित आदर्श वाक्य काम गरि देशका हरेक स्थानीय सरकारलाई विभिन्न कार्यक्रम आयोजना गर्न अनुरोधपत्र ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ मार्फत राष्ट्रिय युवा परिषद्ले अनुरोध गरेको छन् ।
तर अहिलेसम्म म भएको स्थानीय सरकार अर्थात बटेश्वर गाउँपालिका, धनुषाले कुनै पनि कार्यक्रम आयोजना गरेको सुचना पाएको छैन । यस्तो अवस्था बटेश्वरको मात्रै हैन अधिकांश स्थानीय सरकारको हो । यसको कारण कयौँ हुन सक्छ तर बजेट पास नभएको एउटा हुन सक्छ । अर्थात कार्यक्रम गर्ने स्रोत नहुने र कस्ता कार्यक्रम गर्ने त्यसको प्राथमिकता नहुने जस्ता कारण पनि हुन सक्छ ।
तथ्याङ्कले भन्छ, नेपालमा अहिले १६–४० उमेर समूहका ४२.५६ प्रतिशत मानिस छन्, जसलाई राष्ट्रिय युवा नीतिले युवा भन्छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् । त्यस्तै २०७९ सालको स्थानीय तहको निर्वाचन परिणामअनुसार ४० वर्ष मुनिका जनप्रतिनिधिनै ४१ प्रतिशत छन् ।
तथ्याङ्क हेर्दा ४१ प्रतिशत स्थानीय तहको जनप्रतिनिधिहरुले युवा लक्षित काम गर्नु पर्ने हो । तर स्थानीय तहको ऐनाका रुपमा रहेको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले युवालाई लक्षित वर्गको रुपमा लिएर उनीहरूको सहभागिता तथा साझेदारीलाई स्थानीय प्रक्रियामा सुनिश्चित गराउने सम्बन्धमा स्पष्ट रुपमा व्यवस्था भने गरेको छैन ।
तर हरेक वर्ष वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गर्दा समावेशी योजना तथा कार्यक्रम तय गर्नुपर्छ त्यसमा युवा पनि समावेश हुन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को (च) मा स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन भन्ने व्यवस्था रहेको छ यसले के बुझिन्छ भने युवा लगायत सम्बन्धित तथ्याङ्क र अभिलेख सङ्कलन गरिर्ने भूमिका स्थानीय तहका हुन । यसलाई योजना बनाउँदा वा कानून वा कुनै नीति बनाउँदा सहजै प्रयोग गर्न सकोस् ।
राष्ट्रिय युवा परिषद्ले युवा लक्षित विभिन्न कार्यक्रम ल्याए पनि स्थानीय स्तरमा त्यसको कार्यान्वनमा प्रभाकारीता देखिएको छैन । “स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागितासम्बन्धी कार्यविधि, २०७८ (नमूना)” को रुपमा सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालय मार्फत राष्ट्रिय युवा परिषद पठाए पनि त्यसको कार्यान्वयनमा प्रभावकारिता देखिएको छैन ।
यस्तो नहुनुमा, जसको लागि जुन कार्यक्रम तय गर्दै छ वा नीति बनाउँदै छ भने त्यसको छलफल सम्बन्धी पक्षसँग छलफल नगर्नु हो । स्थानीय तहले तथ्याङ्क सङ्कलन त गर्छ तर त्यसको अद्यावधिक गरेको हुँदैन र त्यसको लागि केन्द्रिय तथ्याङ्क विभागको भरमा हुन्छ । त्यसको उपयोग गर्ने कुरै हुँदैन ।
युवाहरूको सोच र काम गर्ने शैली फरक हुन्छ र समय अनुसार हुन्छ उनीहरूलाई सम्बन्धित विषयमा जोड्न सकिन्छ । जसको लागि एउटा सहजै काम भनेको “ईन्टर्नसिप” को सुरुवात हो, जुन काठमाडौँ महानगरपालिकाले गर्दै आईरहेको छ । अर्थात् नवसोचलाई कार्यक्रम तय गरी कार्यान्वन गर्ने साथै त्यसका प्रक्रिया भूमिका दिने ।
हाम्रो समाज र देशमा के युवाहरूले सम्भावनाको पूर्ण प्रयोग गर्ने मौका पाएका छन् त ? भन्ने प्रश्नको उत्तर दिन निकै सोच्नुपर्ने हुन्छ ।
युवालाई सिप, दक्षता, क्षमताको विकास गर्ने र सिर्जनात्मक कार्यका लागि उपयुक्त वातावरण मिलाउने कुरा निकै महत्त्वपूर्ण साथै चुनौतीपूर्ण पनि छ । युवाको क्षमताको प्रयोग सम्बन्धमा भएका अनेकन समस्या नहटाएसम्म देशको समृद्धि सम्भव देखिँदैन । जसको लागि स्थानीय सरकार युवामैत्री बनाउनु पर्ने हुन्छ ।
युवालाई विदेश जानुभन्दा आफ्नै समाज र स्थानमा उद्यमी बन्ने, कमाउने, समाजका लागि काम गर्ने र रमाउने बनाउन सरकार तथा सरकारको एउटै तहमात्र लागेर हुँदैन, सरकारका तीनै तह, राजनीतिक दलहरू, सरकारी तथा गैरसरकारी सङ्घ/सस्थाहरू सहकार्य गर्दै जानुपर्ने आवश्यकता छ ।
नजिकको सरकार भनेको स्थानीय तह नै हो । स्थानीय तह आफ्नो समुदायमा व्यक्तिको अवस्था, उद्यमशीलता र रोजगारीका सम्भावना, युवाका क्षमता र कमीकमजोरी आदिबारे जानकार हुन्छ ।
स्थानीय तहले युवाको अवस्था र विविधता खुल्ने गरी तथ्याङ्क सङ्कलन र व्यवस्थापन गर्ने, विभिन्न क्षमता सिप कला भएका युवाको जानकारी प्राप्त गर्ने, युवाहरूको भेला, छलफल, अन्तरक्रिया गर्ने, युवाका कुरा स्थानीय तहका नेतृत्वले सुन्ने जस्ता कार्य सजिलै गर्न सक्छ । त्यस्तै उद्यमशीलतासम्बन्धी तालिम सञ्चालन गर्ने, युवालाई उद्यमशिल बन्न उत्प्रेरित गर्ने, उद्यमी युवालाई विभिन्न तरिकाले सम्मानित तथा पुरस्कृत गर्ने कार्य पनि गर्न सक्छ ।
युवा बाहिरिँदै धेरै छ र त्यहि मात्रामा फर्किदै पनि छ । त्यसले युवालाई उनीहरूको क्षमता अनुसार सदुपयोग गर्न जरुरी छ । सक्षम युवाले परिर्वतन गर्छ ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को सबै युवामा शुभकामना र सकारात्मक सोचले केहि गर्न प्रयास गर्नुस् पक्कै केहि न केहि गर्न सकिन्छ ।






