जनकपुरमा आरोग्य निकेतन अस्पताल सञ्चालनमा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ मा आजदेखि आरोग्य अस्पताल सञ्चालनमा आएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज एक समारोहबीच सो अस्पताल उद्घाटन गरे।

रु २० करोडको लगतमा करिब १५ कठ्ठा जमिनमा निमार्ण भएको सो अस्पतालको भवन तीन तलाको रहेको छ । निजी क्षेत्रवाट सञ्चालित एक सय शय्याको सो अस्पतालमा २४सै घण्टा आपतकालीन सेवा, प्याथोलोजी सेवा, मुटु परीक्षण, पूर्ण शारीरिक परीक्षण, स्त्री रोगको सम्पूर्ण उपचार तथा अन्य सेवा उपलब्ध रहेको वरिष्ठ चिकित्सक डा गोरांग मिश्राले जानकारी दिए ।

सो अवसरमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा कतिपय अस्पताल गैरकानुनी रुपमा निजी क्षेत्रबाट सञ्चालन भइरहेका तथा उपचार न्यून गुणस्तरको रहेको पाइएकाले त्यसबाट सर्तक एवं सचेत रहन आग्रह गरे । आफूले प्रदेशअन्तर्गत धेरै अस्पतालको अनुगमन तथा निरीक्षण गर्दा अधिकांश अस्पताल मापदण्ड विपरीत पाएको तथा कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए।

प्रतिक्रिया