देशभर साक्षर दलितको सङ्ख्या ६७. २ प्रतिशत, सबैभन्दा धेरै मधेशमा

काठमाडौं । राष्ट्रिय दलित आयोगका अनुसार देशभर साक्षर दलितको सङ्ख्या ६७ दशमलव २ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
आयोगले आफ्नो चौथो वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेपछि सो तथ्याङ्क सार्वजनिक भएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा दलितको जनसङ्ख्या ३८ लाख ९८ हजार ९ सय ९० रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमा दलितको जनसङ्ख्या १३ दशमलव ४ प्रतिशत छ ।
कूल जनसङ्ख्यामा ७६ दशमलव २ प्रतिशत साक्षर रहेकोमा ६७ दशमलव २ प्रतिशत दलित साक्षर रहेका छन् ।
प्रतिवेदनका अनुसार कर्णालीका दलित समुदाय सबैभन्दा धेरै निरक्षर रहेको प्रतिवेदनले देखाउँछ । कर्णालीमा दलित समुदायको साक्षरता दर ४९.१ प्रतिशत छ ।
सुदूरपश्चिममा दलित समुदायको साक्षरता दर ७२.३, लुम्बिनीमा ७३.३, गण्डकीमा ७०.०, बागमतीमा ७२.४, मधेशमा ७७.९, कोशीमा ७६.४ प्रतिशत दलित समुदायको साक्षरता दर रहेको प्रतिवेदनमा उल्लेख छ ।






