सर्लाहीमा अज्ञात समूहद्वारा गोली प्रहार गरी एक जना शिक्षकको हत्या

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गर्दा एक जना शिक्षकको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार राति अन्दाजी ८:२० बजेको समयमा महादेव यादवका ४० वर्षीय छोरा शिक्षक रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले गोली हत्या गरेको हो।

टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचारका लागि महोत्तरीस्थित जानकी हेल्थ केयरमा लगिएको थियो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो । 

थप अनुसन्धान तथा आक्रमणकारीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २१ जनासहित जम्मा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ ।

उपचारका क्रममा जानकी हेल्थ केयरमा राति ८ : ४० बजे चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए ।  उनको शव सोही अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ । 

अहिलेसम्म घटनाको कारण र आक्रमणकारीको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया