आन्दोलनरत जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, ५ सुरक्षाकर्मीसहित १३ जना घाईते

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच द्विपक्षीय झडप हुँदा १३ जना घाईते भएका छन् ।

झडपमा परेर पाँच आन्दोलनकारी र चार सशस्त्र प्रहरी र एक नेपाल प्रहरीका जवान गरी १३ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका सिके कार्यकर्तामाथि प्रहरीले बन्द सडक खुलाउन ११ राउण्ड रबरको गोली चलाएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरू राजमार्ग अवरुद्ध गरेपछि खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बीच धनुषाका प्रहरी प्रवक्ता प्रहर्री नायव उपरिक्षक (डीएसपी) दीपेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार स्थितिलाई नियन्त्रणमा लिन ११ राउण्ड रबर बुलेट, १६ सेल अश्रुग्यास फायर गरिएको थियो । गोली चलेपछि आन्दोलनकारीहरू तितरवितर भएका थिए।

बन्द राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको तर्फबाट ढुङ्गामुढा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रहरीको भनाइ छ । घाईते भएका प्रदर्शनकारीहरूलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालमा ल्याईएको छ ।

घाईते हुनेहरूमा जनमत युवा संघका नथुनी यादवक बिराजी, जनमत विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष विजय यादवलाई खुट्टामा गोली लागेको छ ।

युवा सङ्घका धनुषा जिल्ला सचिव बैजनाथ यादव र निर्वाचन पर्यवेक्षक संजय साह र दलित संघका जिल्ला उपाध्यक्ष राम दयाल मुखियालाई गोली लागेको जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाले जानकारी दिए ।

प्रतिक्रिया
नागरिक मिरर