गौशाला बजारबाट २१ लाखभन्दा बढीको कपडासहित एकजना पक्राउ

महोत्तरी । गौशाला बजारबाट प्रहरीले २१ लाख पाँच हजार ६९९ बराबरको कपडासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा छापामारी गर्दा सो परिमाणको विभिन्न किसिमको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गौशाला नगरपालिका–५ गौशाला बजारस्थित सुबोध यादवको एकतल्ले पक्की घर भाडामा लिई बस्दै आएका भारत, पश्चिम बङ्गाल प्रान्त, कोलकत्ताका ३६ वर्षीय मनोज रायलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।

भन्सार छली गरी सङ्कलन गरिएका ती लत्ताकपडा नियन्त्रणमा लिएको हो । त्यस्तै सोही स्थानबाट एक थान हरिणको सुकेको छाला (आखेटोपाहार) समेत फेला परेको थियो । बरामद भएका ती भन्सार छलीका लत्ता कपडा उपर आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय बुझाउने कार्य भइरहेको छ । यता आखेटोपाहारको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया