वाणिज्य बैंकका म्यानेजरले ग्राहकसँग दादागिरी शैलीमा यस्तो नराम्रो व्यवहार गरे…[भिडियोसहित]

जनकपुरधाम । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सखुवा महेन्द्रनगर शाखाका म्यानेजर( शाखा प्रबन्धक) विवेक दाहालले ग्राहकसँग दुव्र्यवहार गरेको आरोप लागेको छ।

स्थानीय ग्राहक डा. अविनाश कुमार मण्डलले बिहीबार म्यानेजर दाहालविरुद्ध बैंकको केन्द्रीय कार्यालयमा उजुरी दिएका हुन्। उजुरीमा म्यानेजरले आमाको पेन्सन रकम लिन जाँदा अमर्यादित र अपमानजनक व्यवहार गरेको उल्लेख छ।

डा. मण्डलका अनुसार म्यानेजर दाहालले उनकी आमासँग टेलिफोनमा कुरा गर्दै “तपाईँले रकम छोरालाई दिनुभयो भने तपाईं कसरी खानुहुन्छ ?” भन्ने प्रश्न सोधेका थिए। आफूले यस्तो व्यक्तिगत र अपमानजनक प्रश्नप्रति आपत्ति जनाएपछि शाखा प्रबन्धकले कर्मचारीमार्फत दादागिरी शैलीमा जबरजस्ती म्यानेजर बस्ने कार्यकक्षबाट बाहिर निकाल्न लगाएको आरोप उनले लगाएका छन्।

म्यानेजरले चेक र पासबुक फ्याँकिदिएका मात्र नभई पैसा भुक्तानी समेत नगरी “जा, आफ्नी आमालाई लिएर आउ” भन्दै शाखाबाट बाहिर निकाले डा मण्डलके आरोप छ।

यतिमात्र होइन, कानुनी आधारबारे जानकारी माग्दा दाहालले आफूसँग अधिकार भएको दाबी गरे पनि लिखित प्रमाण दिन अस्वीकार गरेको डा. मण्डलले बताएका छन्। उजुरीमा उनलाई दुई सुरक्षागार्डसहित कर्मचारीले हात समातेर जबरजस्ती बाहिर निकालेका थिए।

डा. मण्डलका अनुसार पछि उनका दाइ शाखा पुगेपछि प्रबन्धक दाहालले “हामीले हात मात्र समात्यौं, नत्र पिट्थ्यौं” भन्ने अभिव्यक्ति समेत दिएका थिए।

उजुरीमा डा. मण्डलले, यदि यो व्यवहार बैंकको आधिकारिक नीति अनुसार भएको हो भने आफू माफी माग्न तयार रहेको उल्लेख गरेका छन्। तर आचारसंहिता विपरीत भएको खण्डमा संलग्न प्रबन्धकसहित कर्मचारीमाथि कारबाही गर्नुपर्ने र भविष्यमा ग्राहकसँग यस्ता व्यवहार नदोहोरिने सुनिश्चितता बैंकले गर्नुपर्ने माग गरेका छन्।

यस विषयमा थप जानकारी लिन खोज्दा म्यानेजर दाहाल सम्पर्कमा आउन चाहेनन्।

प्रतिक्रिया