रोजगार दिन्छु भन्ने जनमतका मन्त्रीले सात दर्जनभन्दा बढी कर्मचारीलाई बेरोजगार बनाउँदै
आफ्ना मान्छे भर्ना गर्ने तयारीमा पर्यटनमन्त्री कुशवाहा

जनकपुरधाम। बेरोजगारीको चरम चपेटामा रहेका मधेश प्रदेशका दश लाख युवालाई रोजगार दिन्छु भनेर चुनाव जितेर सरकारमा आएको जनमत पार्टीले लक्ष्य विपरित काम गर्न थालेको छ । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहाले पार्टीको नारालाई बद्नाम गराउने काम गर्न लागेको बुझिएको छ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुनु केही दिनअघि मन्त्री कुशवाहाले एक लाख रोजगारी सिर्जना हुनेगरी सरकारले नीति बनाउन लागेको बताएका थिए । तर अहिले उनैले सात दर्जनभन्दा बढी कर्मचारीलाई बेरोजगार बनाउने योजना बनाएका छन् ।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १४ वटा कार्यालयहरू छन् । ती कार्यालयहरूमा कम्प्युटर अपरेट, सहायक कम्प्युटर अपरेटर, हलुका सवारी चालक र कार्यालय सहयोगी गरी ८० जना भन्दा बढी कर्मचारीहरू कार्यरत छन् । ती कर्मचारीहरू तीन वर्षभन्दा बढी समयदेखि मन्त्रालय तथा मातहतका कार्यालयहरूमा कार्यरत छन् । तर अहिले मन्त्री कुशवाहाले ती सबै कर्मचारीहरूलाई हटाउन उर्दी जारी गरेका छन् ।
‘मन्त्री कुशवाहाले मन्त्रालय र मातहतका सबै कार्यालयहरूमा कार्यरत करारका कर्मचारीलाई हटाउन निर्देशन दिनुभएको छ । तर, के कारणले हटाउन लाग्नुभएको हो बारे जानकारी छैन’, मन्त्रालयका सविच जय कुमार घिमिरेले भने । उनका अनुसार मन्त्रीस्तरीय निर्णय गरेरै सबै कर्मचारीहरूलाई हटाउन मन्त्रीको आदेश छ ।
‘करारका कर्मचारीहरूको म्याद नथप्न मन्त्री ज्यूको आदेश छ । के कारण हो भन्नुभएको छैन् । मन्त्रीस्तरीय निर्णय गरेरै यस्तो आदेश मलाई भएको छ’, सचिव घिमिरे भन्छन्, ‘सबै कार्यालयहरूलाई करार सेवामा कार्यरत कर्मचारीहरुको म्याद नथप्न परिपत्र भइसकेको छ’, उनले भने ।
ती कर्मचारीहरूलाई हटाइसकेपछि मन्त्रालय र मातहतको कार्यालय सञ्चालन गर्न वाधा अवरोध हुने उनको भनाइ छ । ‘ार्यालय सहयोगी र हलुका सवारी चालक पदका करारका कर्मचारीहरूलाई हटाउन भन्नुभएको मन्त्री ज्यूले जुन पदमा स्थायी पदपूर्ति पनि हुँदैन अब किन हटाउन भन्दै हुनुहुन्छ थाहा भएन’, उनले भने।
सचिव घिमिरेले थपे, ‘मैले यसरी हुँदैन हजुर । वर्षौदेखि काम गरेका कर्मचारीहरू छन् । उनीहरूको पनि घरपरिवार छ । रोजीरोटीको कुरो छ । तर पनि उहाँले सिधँै हटाउनुस भन्नुहुन्छ । म केही गर्न सक्ने अवस्थामा छैन,।’
यता नेपाल निजामती कर्मचारी युनियन धनुषाका अध्यक्ष धर्मराज पौडेलले विधि प्रक्रिया पूरा गरेर वर्षौदेखि काम गरिरहेका कर्मचारीलाई मन्त्रीले हटाउन नपाउने बताउँछन् । आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाउन ती कर्मचारीलाई हटायो भने कर्मचारीहरू आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए । जसको जिम्मेवार मन्त्री कुशवाहा र मधेस प्रदेश सरकार हुने उनले बताए।
मन्त्री कुशवाहाले आफ्नो आसेपासेलाई नियुक्ति गर्न पुराना कर्मचारीहरूलाई हटाउन लागेको उनको आरोप छ ।
यस विषयमा मन्त्रीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।






