उद्योग प्रशासन अधिकार प्रदेशलाई हस्तान्तरण गर्न माग

जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले संघीय सरकारलाई मधेश प्रदेशसँग सम्बन्धित उद्योग प्रशासनका विषयमा ध्यानाकर्षण गराएका छन्।
बिहीबार मन्त्री कुशवाहाले संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई पत्रमार्फत आवश्यक पहल र सहयोगका लागि आग्रह गर्दै मधेश प्रदेशलाई औद्योगिक दृष्टिले विशेष महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरेका छन्।
उनका अनुसार उच्च जनघनत्व, उर्वर भूमि, पूर्व–पश्चिम राजमार्ग र भारतसँगको नाका नजिकका कारण मधेश प्रदेश उद्योग–व्यवसायका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। प्रदेशमा कृषिआधारित उद्योग, लघु उद्योग, खनिज स्रोत उपयोग, सीमा व्यापार, श्रमशक्ति र बजारको माग निरन्तर बढ्दै गएको उनले बताए।
संविधानअनुसार ५० करोड रुपैयाँसम्मको स्थिर पुँजी भएका उद्योग प्रदेश सरकार मातहत हुने भए पनि प्रदेश स्थापना अघिका उद्योगका फाइल अझै संघीय मन्त्रालय मातहतै रहेकाले उद्योग प्रशासन जटिल बनेको मन्त्री कुशवाहाले स्पष्ट पारे। उनले ती फाइल तत्काल वीरगञ्जस्थित प्रदेशको उद्योग विभागमा हस्तान्तरण गर्न माग गरे।
यस्तै, क्रसर उद्योगसम्बन्धी वातावरणीय अधिकार, प्रदूषण नियन्त्रण, उद्योग प्रशासन कर्मचारीको क्षमता अभिवृद्धि, स्टार्टअप तथा इन्क्युबेशन सेन्टर सञ्चालन, कर छुटसम्बन्धी व्यवस्था कार्यान्वयन, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, निर्यात प्रवद्र्धन क्षेत्र र आईटी पार्क प्रदेश मन्त्रालयलाई हस्तान्तरण गर्नुपर्ने मागसमेत उनले राखेका छन्।
संघीय सरकार र प्रदेशबीच सहकार्य भए मुलुककै औद्योगिक विकासलाई टेवा पुग्ने विश्वास मन्त्री कुशवाहाले व्यक्त गरेका छन्।








