आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै


काठमाडौं । आज माघ १ गते अर्थात् माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता पनि छ ।

आज थारु समुदायको माघी पर्व पनि मनाइँदैछ । उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले आजको दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । यस्तै तराई मधेशमा मकर सङ्क्रान्ति पर्व मनाइँदैछ भने काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहँु भनेर आजको दिन चाकु, तरुल लगायतका परिकार सेवन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।

तराई मधेशवासीले माघ १ (मकर सङ्क्रान्ति) लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

चिसो मौसममा यस्ता खाद्य पदार्थको सेवनले शरीरमा उर्जा प्रदान हुने चिकित्सकहरूको भनाइ छ । नरदेवी अस्पतालका डा. जया सत्यालका अनुसार जाडोयामको समय यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिने, ताप सन्तुलनमा राख्ने र चिसोबाट जोगाउने काम गर्छ ।

यस्तै रोग प्रतिरोधात्मक शक्ति पनि बढाउने काम गर्छ र शरीरलाई निरोगी राख्छ । उनले कन्दमूलले पाचनशक्ति बलियो बनाउने भन्दै सङ्क्रान्तिका दिनबाहेक जाडोयामभरि नै यी पदार्थ नियमित भोेजन गर्नुपर्ने सल्लाह दिएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर