फेसबुक स्टाटसकै कारण मधेशका मुख्यमन्त्री सतिश सिंहको पदच्युत, मन्त्रीहरू पनि बचेन

जनकपुरधाम। जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।
संसदीय दलका नेता महेशप्रसाद यादवले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिएको छ ।
उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहेको थियो ।
संसदीय दलका नेता यादवले सरकारबाट बाहिरिएको सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जानकारी दिए। यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले फेसबुकमै राजीनामा दिएको थियो, तर प्रदेश प्रमुखको कार्यालयमा लिखित राजीनामा दिएन । आज केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले राजीनामा नदिने अडान लिएको भनीे आलोचना भएको थियो ।
मुख्यमन्त्री सिंहले जेनजीको माहोललाई शान्त बनाउन मात्रै फेसबुकमा राजीनामा लेखेको प्रतिकृया दिँदै आएका थिए।
यो पनिः मुख्यमन्त्री सिंहको फेसबुकमा राजीनामाको ‘प्रपञ्च’
यहाँ जनमत पार्टी नेतृत्वको सरकारमा नेकपा (एमाले), नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्तासाझेदार थिए।
पार्टीले मन्त्री फिर्तासहित सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।







