दलानको एक वर्ष:सुरु गर्‍यो ‘गुड इन द नेबरहुड’ अभियान, आम्दानीको एक प्रतिशत समुदायमा खर्च गर्ने

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा संचालनमा रहेको दलान रेष्टुरेन्टले सफतापूर्वक एक वर्ष पुरा गरेको छ। सफलतापूर्वक संचालनमा ल्याएको प्रथम वार्षिकोत्सवको अवसरमा दलानले आफ्नो नयाँ सामुदायिक अभियान ‘गुड इन द नेबरहुड’ शुभारम्भ गरेको छ। यस कार्यक्रमअन्तर्गत दलानमा हुने प्रत्येक बिक्रीको एक प्रतिशत रकम समुदायको हितमा खर्च गर्ने संचालक संजय चौधरीले जानकारी दिएका छन् ।

गाउँ समाजमा सामूहिक बैठक गर्ने, छलफल गर्ने, सामाजिक निर्णय लिने साझा ठाउँ परम्परागत घरलाई भनिने दलानजस्तै झझल्को दिने जनकपुरधामस्थित संचालनमा रहेको यस रेष्टुरेन्टले आफ्नो एक प्रतिशत आम्दानी समुदायको सरसफाइ, सुरक्षासहित समृद्धि र कल्याणकारी गतिविधिमा खर्च गरिनेछ। पहिलो चरणमा घर–घरको फोहर व्यवस्थापन, नियमित सरसफाइ र वरपरका क्षेत्रमा डस्टबिन राख्ने कार्य सुरु गरिने संचालक चौधरीले बताए। उनले निकट भविष्यमा सडकमा सौर्य बत्ती जडान, सार्वजनिक पर्खालमा आकर्षक चित्रांकन, सुरक्षाका लागि सार्वजनिक क्षेत्रमा सिसिटिभी क्यामेरा राख्ने तथा आवश्यकताअनुसार अन्य गतिविधि पनि सञ्चालन गरिने योजना रहेको बताए।

दलानले व्यवसाय केवल ग्राहकलाई सेवा दिने माध्यम मात्र नभई समाजलाई प्रत्यक्ष फाइदा पु–याउने जिम्मेवार संस्थाको रुपमा अघि बढ्नु पर्छ। “हामीलाई साथ दिएको समुदायलाई प्रतिफलस्वरूप धन्यवाद दिन यो अभियान ल्याएका हौं,” संचालक चौधरीले भने।

यस अभियानलाई सफल बनाउन स्थानीय सरकारसँग सहकार्य गर्ने, समुदायका भद्रभलादमीसँग मिलेर कार्यक्रम अघि बढाउने तथा गतिविधि प्रभावकारी र पारदर्शी बनाउन नियमित प्रतिवेदन सार्वजनिक गर्ने उनको योजना छ। प्रतिवेदन र कार्यप्रगति विवरण ग्राहकले मेनु फोल्डरमै हेर्न सक्ने व्यवस्था पनि गरिने उनको भनाइ छ।

ग्राहक स्वयं पनि यो अभियानको सदस्य हुनेछन्। दलानमा चिया पिउँदा वा अन्य खानेकुरा खरिद गर्दा स्वचालित रूपमा १ प्रतिशत रकम सामुदायिक हितमा जानेछ। साथै अग्रपंक्तिमा राखिएको योगदान बक्समार्फत् ग्राहकले समुदायका लागि थप रकम पनि सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

“गुड इन द नेबरहुड” अभियानले सफा सडक, सुरक्षित सार्वजनिक स्थल र आपसी सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने विश्वास दलानले लिएको छ। यो अभियान व्यवसाय र समुदायबीचको साझेदारीका रुपमा अघि बढाइएको संचालक चौधरीले बताए।

प्रतिक्रिया