सिके राउतले फेसबुकमा लेखे-‘I am sorry’

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले फेसबुकमार्फत एक भावनात्मक स्टाटस लेख्दै पार्टीभित्र असन्तुष्ट, उकुसमुकुसमा रहेका तथा अनुशासनमा बस्न नसक्ने नेताकार्यकर्तालाई यही अवसरमा पार्टी छोड्न आह्वान गरेका छन्। उनले यसलाई “शुद्धिकरण अभियान” को हिस्सा भन्दै पार्टीलाई वफादार, इमान्दार र सक्रिय सदस्यहरूको पार्टी बनाउन सहयोग गर्न आग्रह गरेका छन्।
“यदि कसैलाई पार्टीमा रहँदा वाक्क लागेको छ, भित्रभित्रै पार्टीलाई कमजोर बनाउन बाध्य हुनु भएको छ भने योभन्दा राम्रो मौका आउने छैन,” डा. राउतले लेखेका छन्। उनले हालको जेन-जी आन्दोलनलाई ‘सही समय’ भन्दै असन्तुष्टहरूले कुनै बहाना नबनाई पार्टी छोड्न सक्ने अवस्था बनेको उल्लेख गरेका छन्।
डा. राउतले पार्टी छोड्नेहरूलाई गालीगलौंच वा आरोपप्रत्यारोप नगर्न आग्रह गर्दै, “हामी उल्टै पार्टीमा तपाईँको योगदानको लागि सँधै कदर गरिरहनेछौँ,” भनेका छन्।
उनले आगामी चैत्रमा पार्टीको महाधिवेशन हुने र नेतृत्व लिन इच्छुकलाई अवसर खुला हुने पनि स्पष्ट पारेका छन्। “जनमत पार्टी जनताको मतबाट चल्छ, बाहिरबाट होइन,” उनको भनाइ छ।
राजीनामा दिनेहरूले आधिकारिक हस्ताक्षरसहितको राजीनामा पार्टी कार्यालयमा वा janamatparty@gmail.com मा पठाउन सकिने व्यवस्था गरिएको उनले जानकारी दिएका छन्।
फेसबुक पोस्टको अन्त्यमा डा. राउतले भावुक शब्द प्रयोग गर्दै भनेका छन्, “मैले सकेको जति मात्र गर्ने हो। ‘I am sorry’ पोस्ट गरिसकेको छु। इससे ज्यादा हे धरती माँ मैं तुम्हारी सेवा कर न सका, मुझे माफ कर देना।”
यो पनिः सिके राउतलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम, नदिए बहिष्कार गर्ने चेतावनी






