पत्रकार कुशवाहालाई इन्सपेक्टर यादवले दुर्व्यवहार गरेको आरोप, महासंघद्वारा कारवाहीको माग

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरस्थित दुधमती एफ.एम. १०४ मेगाहर्जका सञ्चालक तथा पत्रकार अनिल कुशवाहामाथि प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । सो क्रममा प्रहरीले सञ्चारगृहमा अनधिकृत प्रवेश गर्दै आतंकित बनाउने मात्र नभई एफएम प्रसारण नै अवरुद्ध गराएको आरोप लागेको छ ।

पत्रकार महासंघ धनुषा शाखामा दिएको निवेदनमा कुशवाहाले असोज १३ गते संचारकर्मकै क्रममा आफूमाथि प्रहरी ज्यादती भएको गुनासो गरेका छन् । उनका अनुसार, एक स्थानीय व्यवसायीको भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको निहुँमा ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक राजाराम यादव स्वयं एफ.एम. कार्यालयमै पसेर प्रत्यक्ष प्रसारण बन्द गराएका थिए ।

त्यही दिन सुवधिमाई मन्दिरमा भइरहेको झिझिया कार्यक्रमको प्रत्यक्ष प्रशारण भइरहेको बेला निरीक्षक यादवले आफूलाई कार्यालयमा लगेर गालीगलौज, अपमानजनक व्यवहार र थुन्ने धम्कीसमेत दिएको निवेदनमा उल्लेख छ ।

पत्रकार कुशवाहाले प्रेस स्वतन्त्रतामाथि गरिएको यस किसिमको हस्तक्षेप अस्वीकार्य भएको बताउँदै निष्पक्ष छानबिन गरी संलग्न प्रहरी अधिकारीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले पत्रकारलाई धम्की र दुव्र्यवहार गर्नुका साथै प्रसारण अवरुद्ध गर्नु प्रहरीको बर्दीको आडमा गरिएको ज्यादती र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार भएको भन्दै दोषी प्रहरीलाई कडा कारबाही गर्न आग्रह गरेका छन् ।

प्रहरीले उक्त पोस्ट डिलिट गराउँदै बाहिर यस विषयमा केही भने वा लेखे ठीक नहुने चेतावनी दिएकाले चारदिन सम्म घटना बाहिर नल्याएको बताए ।

यता प्रहरी निरीक्षक यादवले इलाका प्रहरी सम्बन्धि पोस्ट लेख्दा आफ्नो प्रतिक्रिया नलिएको कारण बोलाएर साइवर अपराधमा मुद्दा दर्ता गर्ने चेतनी दिएको स्वीकारे । पटकपटक पत्रकार कुशवाहालाई फोन गरेपनि नआएपछि एफएममा खोज्न गएको तर, प्रशारण बन्द भने नगराएको प्रहरी निरीक्षक यादवको दावी छ ।

प्रतिक्रिया