श्रीमती गुमाएको दुई महिना नपुग्दै राम कुमारले छोरा पनि गुमाए

जनकपुरधाम । श्रीमती गुमाएको दुई महिना नपुग्दै धनुषाको मिथिला नगरपालिका–२ का राम कुमार महतोले छोरा गुमाएपछि परिवारमाथि बज्रपात परेको छ ।

डेढ महिना अघि धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज घर भएका महतोको ४० वर्षीय श्रिमती शान्तिदेवी महतोको अल्पायुमै मृत्यु भयो । शान्तिदेवी बिरामी भएपछि उपचारको क्रममा जानकी मेडिकल कलेजका चिकित्सकले लापरवाही गरेका कारण निधन भएपछि दुई छोरालाई हुर्काउनु पर्ने चुनौती राम कुमारलाई थियो ।

आर्थिक अवस्था समान्य भएको राम कुमारलाई एकातिर अल्पायुमै श्रीमती गुमाउँदाको पीडा थियो भने अर्कोतिर हुर्कंदै गरेका दुई छोराको भविष्यले पिरोलि रहन्थ्यो । श्रीमती गुमाएको दुई महिना नपुग्दै उनका जेठा छोरा २२ वर्षीय राहुल कुमार महतो (अवि) गत बुधवार घर छेउमै रहेको कुखुरा फार्ममा झुण्डिएको अवस्थामा शंकास्पद फेला परे ।

राम कुमार महतो का दुई छोरा थिए, राहुल र सुरज । जेठो छोरा राहुल र कान्छो छोरा १४ वर्षीय सुरज कुमार महतो । उनी दुवै जना घर नजिकैको कुखुरा फार्ममा काम गर्थे । बटेश्वर गाँउपालिका घर भएका रामपुजन यादवले मिथिला नगरपालिका–२ नक्टाझिजमा सञ्चालन गर्दै आएको कुखुरा फार्ममा दुवै दाजुभाईले काम गरेबापत मासिक २० हजार नगद पाउँथे । समय अनुकुल दिनरात गरेर कुखुरा फार्ममा खाने, बस्ने र सुत्ने सम्मको व्यवस्था आफैंले मिलाएका थिए । असोज १४ गते राति राहुल त्यहि कुखुरा फार्मभित्र सुत्न गएका थिए । तर बिहान उनी कुखुरा फार्मभित्र झुण्डिएको अवस्थामा फेला परे ।

मृतक राहुलको ७० वर्षीय हजुरआमा सुकनी देवी भन्छिन्, “राहुल सँधै जसो खाना खाएर कुखुरा फार्म भित्र सुत्न जान्थे । राहुल एक युवतीसँग प्रेम सम्बन्धमा रहेको कुरा हामीले पछि मात्रै थाहा पायौँ ।” आफन्तको घरमा बस्दै आएका ती युवतीको (नाम खुलाइएको छैन) भने घटना भएको दिन गाँउमै थिए ।

घटना भएको राति कुखुरा फार्म भित्र राहुलसँगै ती युवती रहेको र घटना हुनासाथ ती युवती एकाएक फरार भएको हुनाले घटनामा ती युवतीको संलग्नता रहेको दाबी परिवारजनको छ ।

उनी दुवैजना बीच प्रेम सम्बन्ध रहेको र एकले अर्कालाई सहयोग गर्दै आइरहेका थिए । तर अचानक राहुल मृत फेला पर्नुमा शंका पैदा भएको परिवारको भनाइ छ ।

मृतक राहुलका भाई सुरज भन्छन्, “डेढ महिना अगाडि चिकित्सकको लापरबाहीले आमाको मृत्यु पछि दाईले नै हामीलाई रेखदेख देखि घरको सबै खर्चा उठाएको थियो । घरको आर्थिक अवस्था एकदमै कमजोर भएकोले पढाई छाडेर दैनिक श्रम गर्न कुखुरा फार्ममा जान्थे । तर असोज १५ गते बुधवार बिहान दाई शंकास्पद अवस्थामा झुण्डिएको फेला परे ।”

दाई प्रेम सम्बन्ध रहेको र त्यसै कारण उनलाई ती युवतीले हत्या गरेर झुण्डाएको हुन सक्ने शंका रहेको बताए ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर का अनुसार “घटनाको विषयमा थप अनुसन्धान भइराखेको छ । मृतकको पोष्टमार्टम भएको तर रिपोर्ट आउन बाँकी रहेको हुँदा यस विषयमा थप भन्न नसकिने बताए ।

डेढ महिना अगाडि राम कुमारले श्रीमती गुमाएका थिए

गत भदौ महिनाको ४ गते रमदैयास्थित जानकी मेडिकल कलेजमा चिकित्सकको लापरबाही का कारण रामकुमार महतो को श्रिमती शान्तिदेवी महतोको मुत्यु भएको थियो। शान्ति देवी महतोको निधन पछि अस्पाताल परिसरमा तनावग्रस्त सहित तोडफोड समेत भएका थिए ।

मृतक राहुलका बुवा रामकुमार महतोका अनुसार श्रीमतीको मृत्यु डाक्टरहरूकै लापरबाहीले हुँदा पनि आफूहरू क्षतिपूर्ति नपाएको र अहिले छोरा निधन भएको खबरले मर्माहित बनाएको छ । घरमा ४ जनाको सदस्य रहेको र उनीहरूलाई कसरी पालनपोषण गर्ने समस्या थप चुलिएको छ । घरखर्च चलाउन समस्या भइरहेको हुनाले आफूलाई सहयोग गरिदिन आग्रह समेत गरे ।

चालक पेसामा आबद्ध रहेका राम कुमार अहिले शोकमा छन् । घरको सहारा बनेका राहुलको अल्पायुमै मृत्युले घरमा बज्रपात परेको छ । नहुनु पर्ने घटना घट्यो । घरपरिवार चलाउन समेत गार्हो भएको छ। स्थानीय हिमालय युवा क्लव नक्टाझिजले आर्थिक सहयोग बापत रकम संकलन गर्ने जारी रहेको र त्यसमा ईच्छुक व्यक्तिले सहयोग गरिदिन क्लबका अध्यक्ष विजय सिंहले आग्रह गरे ।

ईच्छुक व्यक्तिले सहयोग गर्न तलको ई–सेवा क्युआर कोर्ड प्रयोग गर्न अनुरोध गरिन्छ ।-(विजय सिंह) हिमालय युवा क्लव नक्टाझिज अध्यक्ष ।

प्रतिक्रिया