प्रहरी निरीक्षक ओम प्रकाश बने असोज महिनाको उत्कृष्ट प्रहरी

जनकपुरधाम। ईलाका प्रहरी कार्यालय यदुकूहामा कार्यरत प्रहरी निरीक्षक ओम प्रकाश यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका छन् ।

प्रदेश प्रहरी र जिल्ला प्रहरी धनुषाले आफू मातहत कार्यरत प्रहरीको कार्य सम्पादनको अधारमा यादवलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

प्रहरी निरीक्षक यादवले प्रहरी संगठनको नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी सफतापूर्वक निर्वाह गरेको भन्दै प्रहरी संगठनले उनको कार्यलाई मूल्याङन गरी महिनाको उत्कृष्ट प्रहरीको घोषणा गरेको हो ।

प्रहरी निरीक्षक यादवले विभिन्न मुद्दाका फरार प्रतिवादीहरु मध्ये हालसम्म १४ जनालाई पक्राउ गरी कानुन बमोजिम कारबाही गराउन उल्लेखनीय भूमिका निर्वाह गरेको प्रहरीद्धरा जारी उत्कृष्ट कार्य विवरण पत्रमा उल्लेख गरिएको छ ।

प्रहरीले जारी गरेको कार्य विवरणा पत्रका अनुसार प्रहरी निरीक्षक यादवले स्रोत नखुलेको भारतीय रुपैयाँ एक लाख ४७ हजार र आठ लाख ५० हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरी हुण्डी सम्बन्धी मुद्दा चलाइएको छ । विभिन्न मितिमा अनलाईन ठगी घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी ठगिएका रुपैयाँ पिडित पक्षलाई फिर्ता गराउन सफल भएका छन् ।

त्यस्तै धनुषाको विदेह नगरपालिका–५ मुरीवाटोलकी रामपरी देवी बरही ठाकुरको हत्यामा संलग्न सोही ठाउँका ५० वर्षीय संगमम पासवानलाई प्रहरी निरीक्षक यादवले घटनाको केहि दिनमै पक्राउ गरेका थिए । रामपरीलाई घाटी रेटी हत्या गरेका थिए ।

जेनजी आन्दोलनको क्रममा मधेश भवनमा सुरक्षाका लागि खटिएका प्रहरी निरीक्षक यादवले निवासमा रहेका मुख्यमन्त्रीलाई प्रर्दशनकारीको आक्रमणबाट जोगाइ विभिन्न मन्त्री र कर्मचारीको निवासमा आगजनी तथा लुटपाट हुन नदिन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

जनकपुरधाम उपमहानगपालिका–२० रुपैठामा गणेश मुर्ति सेलाउने क्रममा हिन्दु समुदाय र मुस्लिम समुदायबीच झै–झगडा हुदाँ विभिन्न घरहरुमा आगजनी र तोडफोड भएका थिए । त्यहाँ सुरक्षामा खटिएका प्रहरी निरीक्षक यादवले त्यस्ता अराजक गतिविधिमा संलग्न ३० जनालाई नियन्त्रणमा लिइ थप अप्रिय घटना हुन नदिएको प्रहरीले जारी गरेको कार्य विवरण पत्रमा उल्लेख गरिएको छ ।

प्रहरी निरीक्षक यादव आफूले पाएको जिम्मेवारी उच्च व्यवसायिक कुशलताका साथ निर्वाह गरी प्रहरी संगठनको छविलाई नै उच्च राख्न उल्लेखनीय भूमिका निर्वाह गरेको धनुषा प्रहरीले जारी गरेको कार्य विवरण पत्रमा भनिएको छ ।

उनको उत्कृष्ट कार्यले गर्दा आम जनमानसमा प्रहरी प्रतिको सकाररात्मक सोच तथा विश्वासनीयता अभिबृद्धि गरेको हुदाँ उक्त कार्यको उच्च मूल्याकन गर्दै असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।

प्रतिक्रिया