‘तराई मधेशमा भूमिगत जल घट्दो क्रममा’

जनकपुरधाम । तराई मधेशमा भूमिगत जल घट्दो क्रममा रहेको एक अध्ययनले देखाएको छ । बुधबार मधेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, वेल्ट हङ्गर हिल्फेको सहकार्य र सबल नेपालको आयोजनामा सम्पन्न ‘कर्जन्हा नगरपालिका र गोलबजार नगरपालिका क्षेत्रमा भुमिगत जल अनुगमन तथा पुनर्भरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक’ सम्बन्धी कार्यक्रममा अनुसन्धानकर्ता प्रतापसिंह तातेरले अध्ययनका निष्कर्ष सार्वजनिक गरेका हुन् ।

उनको अध्ययनमा हरेक मनसुनमा वर्षातको पानी माटोको सतह हुँदै जमिनभित्र प्रवेश गर्दा तथा पोखरीहरूबाट प्राकृतिक रूपमा भूमिगत जल पुनर्भरण हुने गरेको छ । दादरको भनाइमा मुख्यतः दुई मुख्य कारणले भूमिगत जल सतह घट्दो क्रममा छ ।

प्राकृतिक पुनर्भरण क्षेत्रहरू बन्द हुँदै जानु र भूमिगत जलको अनियन्त्रित दोहन हुनु । यसले दीर्घकालीन रूपमा पानीको गम्भीर अभाव निम्त्याउने प्रमुख कारणका रूपमा औंल्याइएको छ ।

उनका अनुसार चुरे क्षेत्रमा पानी जम्मा हुने स्थलहरू तथा नहरबाट संकलित पानीले प्राकृतिक रूपमा भूमिगत जल पुनर्भरणमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै जलको तह कायम राख्न वा बढाउन सहयोग गरेको छ ।

सिरहाको कर्जन्हा र गोलबजार नगरपालिकामा गरिएको अध्ययनमा व्यक्ति–व्यक्तिको घरधुरीमा रणनीतिक स्थान पहिचान गरी कम लागतमा निर्माण गर्न सकिने पुनर्भरण इनारमार्फत कृत्रिम पुनर्भरण प्रक्रिया अपनाए भूमिगत जलस्रोतलाई स्थिर राख्न सकिने उल्लेख गरिएको छ ।

पुराना तथा पुरिएका पोखरीहरू पुनर्जीवन दिएर पनि यस्तो पुनर्भरण सम्भव हुने तातेरको भनाइ छ ।

उनका अनुसार भूमिगत जल पुनर्भरणले वर्षायाममा आउने पानीको व्यवस्थापन गरी बाढी न्यूनीकरणमा सहयोग गर्नुका साथै दीर्घकालीन अनावृष्टि नियन्त्रण र जलस्रोतको दिगो उपयोगमा टेवा पु¥याउँछ । चुरेको भावर क्षेत्र प्राकृतिक पुनर्भरण क्षेत्र भएको उल्लेख गर्दै तातेरले यही क्षेत्रबाट सामुदायिक इनार, चापाकल, डिप बोरिङ र प्राकृतिक मुहानमा पानीको आपूर्ति हुने बताए ।

परियोजनाको दायरा सीमित भए पनि यसलाई आसपासका क्षेत्रमा विस्तार गरी प्रविधि प्रदर्शन र जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गर्नु सकारात्मक भएको उनको भनाइ छ । अध्ययनले गोलबजारमा राजमार्गको उत्तरतर्फको भावर क्षेत्र र कर्जन्हामा कमला नदी आसपासलाई ‘उच्च सम्भावना भएका’ पुनर्भरण क्षेत्रका रूपमा पहिचान गरेको छ । यी क्षेत्र सतही पानी जमिनमा सजिलै प्रवेश गरी गहिरो जलभण्डार पुनःपूर्ति गर्न सक्षम प्राकृतिक प्रवेशद्वारका रूपमा काम गर्छन् ।

यता, भू–जल मानवजन्य क्रियाकलापका कारण प्रदूषणप्रति अत्यन्त संवेदनशील हुने तथ्य पनि अध्ययनले उजागर गरेको छ । कृषि गतिविधि, अव्यवस्थित सरसफाइ र फोहोरपानी निकास, ठोस फोहोर व्यवस्थापन, ल्यान्डफिल साइट, औद्योगिक तथा व्यवसायिक क्रियाकलाप र अत्यधिक भू–जल निकासीका कारण जल प्रदूषण बढ्दै गएको र कतिपय स्थानमा आर्सेनिकयुक्त पानी उपभोग गर्न नागरिक बाध्य भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया