धनुषाको बटेश्वरमा सयौंले गरे रास्वपा प्रवेश

जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौं नेता–कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। मंगलबार नेकपा एमाले, नेकपा र नेपाली काँग्रेसलगायत दल परित्याग गरी उनीहरू रास्वपामा आबद्ध भएका हुन्।
जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का रास्वपा उम्मेदवार राजकिशोर महतोको उपस्थितिमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो।
रास्वपा र्याट विभागका मधेश प्रदेश कमिटीका सचिव आशिष नेपालका अनुसार बटेश्वरमा रास्वपाप्रति व्यापक जनसमर्थन देखिएको छ। “बटेश्वरसहित यो निर्वाचन क्षेत्र नै रास्वपामय बनेको छ। युवाहरू, समाजसेवी तथा विभिन्न दल परित्याग गरेका सयौं व्यक्तिहरू हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ,” उनले भने।
उनका अनुसार निर्वाचनलाई लक्षित गर्दै रास्वपामा प्रवेश गर्नेहरूको जनलहर बढ्दै गएको छ। परिवर्तनको एजेन्डासहित चुनावी मैदानमा उत्रिएको रास्वपाको पक्षमा जनसमर्थन रहेको उनको दाबी छ।






