डा. सिके राउत : देशलाई आवश्यक भिजन भएको नेतृत्व

जनकपुरधाम । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत प्रतिस्पर्धामा छन् । देशको समग्र विकास, सुशासन र वैकल्पिक राजनीतिक संस्कारको एजेण्डा अघि सारेका डा. राउतलाई ‘देशलाई आवश्यक र चाहिने नेता’का रूपमा मतदाताबीच चर्चा बढ्दो छ ।
त्यस क्षेत्रका निवर्तमान सांसद समेत रहेका डा. राउत बलियो प्रतिस्पर्धीका रूपमा उभिएका छन् । २०७९ को निर्वाचनमा डा. राउत (३५०४२ मत)ले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव (१६९७९ मत)लाई दोब्बर भन्दा बढी मतले पराजित गरेका थिए ।
विकासप्रेमी छविका कारण उनले विशेषगरी किसान, युवा तथा शिक्षित वर्गको विशेष समर्थन पाउँदै आएका छन् । किसानका लागि सम्भवतः मुलुकमै छुट्टै आन्दोलन गरेको पार्टीको नेताका रुपमा डा. राउत जनतामाझ परिचित छन् । स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा स्पष्ट योजना प्रस्तुत गर्दै आएका डा. राउत जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिने नेताका रूपमा परिचित छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार बौद्धिक क्षमताका धनी तथा विद्वान व्यक्तित्वका रूपमा चिनिएका राउतले नीति, विचार र कार्यक्रमका आधारमा मत मागिरहेका छन् । उनी पदको लोभ नगर्ने, सिद्धान्तमा अडिग रहने नेताका रूपमा स्थापित भएको समर्थकहरूको दाबी छ ।
पटक–पटक मन्त्री तथा उपप्रधानमन्त्री पदको प्रस्ताव आउँदा समेत अस्वीकार गर्दै जनताको म्यान्डेटबाटै जिम्मेवारी लिनुपर्ने धारणा राखेको उनलाई ‘त्याग र प्रतिबद्धता’को उदाहरणका रूपमा देखिएको छ ।
२०७९ मा निर्वाचित भए पश्चात् डा. राउतले आफ्नो निर्वाचन क्षेत्रमा ८०० भन्दा बढी विकासे योजनाहरु सफलतापूर्वक सम्पन्न गराएका छन् । साढे २ वर्षकै अवधिमा उल्लेख्य मात्रामा योजनाहरु सफलतापूर्वक सञ्चालन गराएका डा. राउतले सबै योजनाहरु पारदर्शी रुपमा सञ्चालन गराएका छन् । ती सबै योजनाहरु वेबसाइट मार्फत सार्वजनिक समेत गर्ने गरिएको थियो ।
निर्वाचनमा जनमत पार्टीले उल्लेखनीय सफलता हासिल गर्ने दाबी गर्दै डा. राउत नेतृत्वले वैकल्पिक र परिणाममुखी शासनको खाका समेत कोरिसकेका छन् ।
तराई–मधेशदेखि पहाडसम्म संगठन विस्तार गरेका जनमत पार्टी अहिले चुनावी मैदानमा उल्लेख्य रूपमा बलियो देखिएको छ । पार्टीको राष्ट्रिय अध्यक्षका रूपमा डा. राउतले गाउँ–गाउँ तथा टोल–टोल पुगेर प्रत्यक्ष संवाद गर्ने शैली अपनाएका छन् । उनले सभामा बोलेका भाषण भन्दा बढी प्रभाव पार्ने कुरा भनेको जनतासँगको सीधा संवाद र सरल प्रस्तुती हो ।
‘हामीलाई भाषण होइन, काम चाहिएको छ’ भन्ने आम जनताको अपेक्षालाई उनले आफ्नो राजनीतिक मूल मन्त्र बनाएका छन् ।
राजनीतिक सभामा सुरक्षा घेराभित्र सीमित बस्ने नेता भन्दा फरक रूपमा डा. राउत खुला भेटघाटमा विश्वास गर्छन् । किसानसँग खेतमै पुगेर संवाद, युवासँग क्याम्पस परिसरमा छलफल, महिला समूहसँग प्रत्यक्ष अन्तरक्रिया उनको नियमित गतिविधि बनेका छन् ।
युवाहरूले उनलाई ‘पढेको, बुझ्ने र सुन्ने तथा सरल नेता’ भनेर सम्बोधन गर्न थालेका छन् । सामाजिक सञ्जालमा पनि उनको सक्रियता उल्लेख्य छ, जहाँ उनले प्रत्यक्ष प्रश्नोत्तरमार्फत नागरिकका जिज्ञासालाई सम्बोधन गर्छन् ।
विकासप्रेमी र स्पष्ट रोडम्याप
डा. राउतको चुनावी एजेन्डामा विकास मुख्य केन्द्रमा छ । कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार लगायतका विषयमा उनले स्पष्ट योजना अघि सारेका छन् । उनी भाषणमा मात्र सीमित नभई तथ्यांक, अनुसन्धान र सम्भावित परिणामसहित कार्यक्रम प्रस्तुत गर्छन् । यही कारणले उनलाई विद्वान तथा बौद्धिक क्षमताका धनी नेताको रूपमा हेरिन्छ ।
उनले पटक–पटक भनेका छन्,–‘देशको समृद्धि नाराले होइन, नीति र इमानदार कार्यान्वयनले मात्रै सम्भव हुन्छ ।’
मधेश प्रदेशको सप्तरीमा मुलुकमै पहिलो पटक स्पेस सेन्टर, इनोभेसन सेन्टर, रोजगारका लागि उद्योगग्राम, रोजगार सेवा केन्द्र सहित दर्जनौँ नयाँ प्रयोगहरुको सुरुवात डा. राउतले गराएका छन् ।
डा. राउतकै भाषामा भन्नुपर्दा केही समय अघिसम्म ‘गुण्डाराज’ भनेर चिनिने सप्तरी सदरमुकाम राजविराज अहिले प्रविधियुगमा रुपान्तरित हुदै गएको छ ।
पदको लोभ नभएको त्यागी छवि
नेपाली राजनीतिमा पदको लागि हानाथाप हुनु दृश्य नौलो होइन । तर डा. राउतले आफूलाई त्यस दौडभन्दा बाहिर राख्ने प्रयास गरेका छन् । विभिन्न समयमा मन्त्री वा उपप्रधानमन्त्री पदको प्रस्ताव आएको चर्चा चल्दा पनि उनले आफ्नो मूल उद्देश्य संरचनागत सुधार र नीति निर्माणमा स्पष्ट भूमिका नबिर्सिएको दाबी गर्छन ।
पद भन्दा सिद्धान्त ठूलो डा. राउतको कदमलाई नेपाली राजनीतिमा नयाँ अभ्यासको सुरुवातको साकारात्मक कमद मानिन्छ । राजनीतिमा त्यागी र सिद्धान्तवादी छवि बनाउनु सजिलो छैन, तर डा. राउतले त्यसतर्फ निरन्तर प्रयास गरिरहेका छन् ।
देशलाई आवश्यक नेतृत्व
आज देश राजनीतिक स्थिरता, आर्थिक संकट र रोजगारी अभाव जस्ता चुनौतीसँग जुधिरहेको छ । यस्तो अवस्थामा अध्ययन, अनुसन्धान र स्पष्ट दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको विश्लेषकहरू बताउँछन् । डा. राउतको शैक्षिक पृष्ठभूमि र वैचारिक स्पष्टता उनका समर्थकहरूका लागि आशाको आधार बनेको छ ।
उनको चुनावी प्रतिस्पर्धामा अवस्था बलियो देखिनुको कारण केवल संगठन मात्र होइन, वैकल्पिक नेतृत्वको खोजीमा रहेका मतदाता तथा युवाहरुको ठुलो समर्थन पनि हो ।






