मौखिक र ट्रायल माध्यमबाट इ–रिक्सा लाइसेन्सका लागि ‘स्टिकर अभियान’

इ–रिक्सा मजदुरहरूले लाइसेन्स प्रक्रियालाई सहज बनाउन ‘स्टिकर अभियान’ सुरु गरेका छन्। गत आइतबार र सोमबार विकल्प एन अल्टरनेटिभ र कायापलट को साथमा नेपाल इ–रिक्सा मजदुर संगठन धनुषा को सहकार्यमा अभियान सञ्चालन गरिएको थियो।

मधेश प्रदेश सरकारले यातायात व्यवस्था ऐनमार्फत व्यवस्था गरे पनि लिखित परीक्षाको बाध्यात्मक व्यवस्थाका कारण धेरै इ–रिक्सा चालकले लाइसेन्स लिन नसकेको गुनासो गरेका छन्। चालकहरूको समस्या समाधानका लागि प्रदेश सरकारलाई खबरदारी स्वरूप अभियान सुरु गरिएको बसन्त अधिकारी ले जानकारी दिए।

उनका अनुसार हजारौँ इ–रिक्सा सञ्चालनमा रहे पनि अधिकांश चालकसँग लाइसेन्स नहुँदा दुर्घटनाको अवस्थामा थप जोखिम सिर्जना हुने भएकाले अभियानलाई निरन्तरता दिइएको हो।

त्यसैगरी, संगठनका सचिव सन्तोष पास्वान ले इ–रिक्सा चालकका लागि लाइसेन्स अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै नपढे–लेखेकाहरूका लागि लिखित परीक्षा बाधक बनेको बताए। उनले पहिलेदेखि रहेको व्यवस्थालाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले स्टिकर अभियान सञ्चालन गरिएको बताए। यस अभियानमार्फत चालकहरूलाई लाइसेन्ससम्बन्धी जानकारी दिँदै सुरक्षित र भरपर्दो यातायात साधनको रूपमा इ–रिक्सालाई स्थापित गर्ने विश्वास व्यक्त गरे।

अभियानअन्तर्गत हालसम्म करिब ६०० इ–रिक्सामा स्टिकर टाँस गरिएको छ। अभियानलाई निरन्तर सञ्चालन गरिने जानकारी दिँदै कायापलटका संस्थापक दिवाकर उप्रेतीले यसलाई नीतिगत तहबाट कार्यान्वयन गर्न दबाब दिइने बताए। साथै, उनले कोशी प्रदेश ले गरेको अभ्यासलाई सिकाइका रूपमा लागू गराउन पहल गरिने बताए।

प्रतिक्रिया