आफ्नाे शर्तमा काम नगरेपछि अर्कै लेखापाल ल्याउने दौडधुपमा मेयर यादव

जनकपुरधाम । नयाँ आर्थिक वर्ष सुरु भएसँगै धनुषाको सहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवले त्यहाँ कार्यरत केही कर्मचारी हटाउन दौडधुप सुरु गरेका छन् । महालेखा नियन्त्रक कार्यालय काठमाडौँबाट खटाइएको कर्मचारी हटाएर आफू अनुकुल चल्न सक्ने कर्मचारीको खोजी सुरु गरेको हो ।
त्यहाँ कार्यरत लेखापाल प्रचलित कानुन, नियम र वित्तीय कार्यविधि अनुसार भन्दा नगर प्रमुख यादवको मौखिक आदेश बमोजिम काम गर्न नमान्दा अर्कै लेखापालको खोजी गर्न महालेखा नियन्त्रक कार्यालय काठमाडौँमा नगर प्रमुख यादवले नेताबाट पैरवी गराउन थालेका छन् ।
कार्यकालको अन्तिम वर्षमा आफू अनुकूलका कर्मचारी नभए आफूले भने बमोजिम नगरपालिकाबाट काम गराउन नसक्ने आँकलन गरी नगर प्रमुख यादवले नयाँ लेखापाल ल्याउन कसरत सुरु गरेका छन् ।
स्रोतका अनुसार नगर प्रमुख यादवले आफू भनेअनुसार काम गर्नुपर्ने शर्तसहित लेखापालको खोजी गरिसकेका छन् । धनुषाकै मुख्यापट्टी मुसहरनिया गाउँपालिकामा कार्यरत सहायक लेखापाल हिरावन यादवलाई लैजान लागेका हुन् । त्यसका लागि उनी आजै काठमाडौैँ निस्किएको स्रोतले जानकारी दिए ।
मेयर यादवले लैजान चाहेको लेखापाल यादव चौथो तहका कर्मचारी हुन् । जबकी शहिदनगर नगरपालिकामा सातौं तहको लेखा अधिकृत र सहायक पाँचौ तहको मात्र दरबन्दी रहेको छ । मेयर यादव तह भन्दा आफूले भने बमोजिम भुक्तानी गर्ने र कागजात मिलाउन सक्ने कर्मचारीको खोजीमा छन् ।
स्रोतका अनुसार मेयर यादवले स्थायी कर्मचारी भन्दा निमित्तको भरमा अन्तिम कार्यकाल चलाउन खोजिएको छ । त्यसैले मेयर यादवले आफैले बोलाएर ल्याएको लेखापाल हटाउन अहिले जोडबल सुरु गरेका छन् ।
मेयर यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर यसअघि ११ जना नगर प्रहरी र ९ जना कम्प्युटर अपरेटरसहित करारमा केही कर्मचारी भर्ना गर्न खोजेको थियो । आवेदन पनि लिईसकेको थियो । नगर प्रहरीमा प्रथम चरणको परिक्षामा उत्तिर्ण उम्मेदवारहरूका लागि अन्तर्वार्ता मिति पनि तय गरिसकेका थिए । तर, नगरपालिमा नयाँ प्रमुख प्रशासकीय अकृधित केशव शर्माको हाजिर भएपछि उनले नियुक्ति गर्न नमान्दा नगर प्रहरीको अन्तर्वार्ता अनिश्चित बनेको छ भने कम्प्युटर अपरेटरमा परेको आवेदन नगरपालिकाको दराजमा थन्किएको छ ।
करारका कर्मचारी भर्ना प्रक्रियामा प्रशासकीय अधिकृतबाट असहयोग पाएदेखि मेयर यादवले प्रशासकीय अधिकृत र लेखापाल हटाउन खोजेका थिए । तर, आर्थिक वर्षको अन्तिममा कर्मचारी हटाउने खेलमा लागेपछि नगरपालिकाको कामकाज नै प्रभावित हुने देखेपछि उनी कर्मचारी सरुवाबाट पछि हटेका थिए ।






