आफूले खोजेको चौथो तहका लेखापाल ल्याउन काठमाडौँमा भौतारिँदै मेयर यादव

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव लेखापाल सरुवा गराउनका लागि यतिबेला काठमाडौँमा छन् । लेखापाल लोक बहादुर नेपालीलाई नगरपालिकाबाट फिर्ता गराउन उनी मंगलवार काठमाडौँ पुगेका हुन् ।

आर्थिक वर्षको अन्त्यतिर मेयर यादवको दबाबमा भुक्तानी गर्न नमान्दा लेखापालसँग मनमुटाव सुरु भएको थियो । त्यसैले नयाँ आर्थिक वर्षमा उनलाई हटाएर अर्को लेखापाल ल्याउने र नगरपालिकाको कामकाज सुरु गर्ने उनले तयारी गरेका छन् ।

मेयर यादवले कार्यकालको अन्त्यतिर आफू अनुकूल काम गर्ने लेखापाल खोजेर ल्याउन लागि परेका छन् । हालका लेखापाल नै नगरपालिकामा रहे आफू चाहे अनुसार भुक्तानी गराउन नसक्ने छाटकाँट देखेपछि उनलाई सरुवा गराउन मेयर यादव कसरत गरिरहेका छन् ।

आर्थिक वर्षको अन्त्यमा मेयर यादवले आफ्नो दबाबमा भुक्तानी गर्न नमान्दा र हिसाबकिताव नमिल्दा लेखापाल र अधिकृत सरुवा गराउने गरेका छन् । यसअघि २०८०÷८१ को अन्त्यतिर पनि तत्कालीन लेखापाल सरोज कुमार यादवले मेयरको भनाइ अनुसार भुक्तानी नगर्दा उनलाई हटाइएको थियो । त्यसपछि मेयर यादव र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश महतो काठमाडौँ पुगेर नेपालीलाई नगरपालिकामा आउन आग्रह गरेपछि लेखापाल नेपाली काजमा शहिदनगरमा आएका थिए ।

एक आर्थिक वर्ष मेयर यादव र लेखापालबीच सम्बन्ध राम्रो रहेपनि बितेका आर्थिक वर्षमा उनीहरुको सम्बन्ध चिसिएको हो । पाँचौ तहका लेखापाल नेपालीलाई हटाएर उनको ठाउँमा चौथो तहका सहायक लेखापाल ल्याउन यतिबेला मेयर यादव जोडबल गरिरहेका छन् ।

स्रोतका अनुसार मेयर यादवले धनुषाकै मुख्यियापट्टी मुसहरनिया गाउँपालिकामा काजमा कार्यरत सहायक लेखापाल हिरावन यादवलाई ल्याउन खोजिरहेका छन् । जबकी त्यहाँ लेखा अधिकृत सातौँ र पाँचौँ तहको दरबन्दी मात्रे छ । तर, मेयर यादवले सहायक लेखापाल लगेर उसलैलाई निमित्त बनाएर काम गराउने तयारीमा छन् ।

मेयर यादवले सहायक लेखापाल यादवसँग कुरा गरेपछि लेखापालले मेयरकै अनुसार काम गर्न मौखिक सहमति जाएपछि उनलाई नै ल्याउन काठमाण्डौं पुगेका छन् । ती स्रोतका अनुसार सिरहाबाट निर्वाचित रास्वपाका सांसदको भरोसमा मेयर यादव काठमाण्डौं गएको छ । महालेखा नियन्त्रक कार्यलयमा ती सांसदबाट भनसुन गराएर सहायक लेखापाल यादवलाई नगरपालिकामा ल्याउन प्रयास गरिरहेका छन् ।

नगरपालिका एक कर्मचारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत र लेखापालको विषयमा छुटै धारणा छ । लेखापाल र अधिकृतबीच सम्बन्ध राम्रो भए भने मेयरलाई थाहै नदिएर उनीहरु धेरै काम गर्न सक्छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा र लेखापालबीच सम्बन्ध राम्रो देखेपछि लेखालाई हटाउन चाहेका छन् । लेखालाई हटाउन मध्येको एउटा कारक अधिकृतसँगको राम्रो सम्बन्ध पनि हो ।

मेयर यादवले स्थायी प्रशासकीय अधिकृत र लेखा भन्दा निमित्त बनाएर कामकाज आगाडी बढाउन खोजेका छन् । यसअघि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश महतो गइसकेपछि आयुर्वेदका कर्मचारी अनिल कुमार झालाई निमित्त अधिकृत जिम्मेवारी दिएका थिए । बितेको आर्थिक वर्षमा झाले नै निमित्त अधिकृतको जिम्मेवारी लिएर काम गरेका थिए ।

निमित्त अधिकृत झाले आफूले भने जस्तै काम गर्न थालेपछि मेयर यादवले तीन चार महिनाअघि ९ जना कम्प्युटर अपरेटर र ११ जना नगर प्रहरी भर्ना गर्न खोजेका थिए । नगर प्रहरीको पहिलो चरण लिखित परिक्षा नतिजा सार्वजनिक गरेर अन्तर्वार्ताका कार्यतालिका पनि निकालिसकेका थिए । तर, नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अकृधित केशव शर्माको हाजिर भएपछि उनले नियुक्ति गर्न नमान्दा नगर प्रहरीको अन्तर्वार्ता अनिश्चित बनेको छ भने कम्प्युटर अपरेटरमा परेको आवेदन नगरपालिकाको दराजमा थन्किएको छ ।

करारका कर्मचारी भर्ना प्रक्रियामा प्रशासकीय अधिकृतबाट असहयोग पाएदेखि मेयर यादवले प्रशासकीय अधिकृत र लेखापाल हटाउन खोजेका थिए । तर, आर्थिक वर्षको अन्तिममा कर्मचारी हटाउने खेलमा लागेपछि नगरपालिकाको कामकाज नै प्रभावित हुने भएपछि उनी कर्मचारी सरुवाबाट पछि हटेका थिए ।

प्रतिक्रिया
    ट्याग: