प्रेस्क्रिप्सनबिना एन्टिबायोटिकको प्रयोग विष बनिदिन सक्छ !

जय पाठक (जेपी)

भनिन्छ, थोरै खाए अमृत, धेरै खाए विष । हरेक चिजलाई सही तरिकाले प्रयोग गर्न सके अमृत समान हुन्छ, विवेकपूर्ण प्रयोग गर्न नसकिए विष नबन्ला भन्न सकिन्न ।

हामी सबैले बुझेको विषय हो– औषधिविना उपचार सम्भव छैन । यही उपचार गर्ने औषधिसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् ‘फर्मासिस्ट’ अर्थात् औषधिविज्ञ । स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवं संवेदनशील क्षेत्र हो फार्मेसी, तर विडम्बना नेपालमा यस्तो हुन सकेन । कानुन छ, तर कारबाही हुँदैन । भनिन्छ नि, नेपालको कानुन दैवले जानून् । नियम बन्छ, तर कार्यान्वयन हुँदैन । जे बन्छ, त्यो कागजमा मात्र सीमित हुन्छ । सबै क्षेत्र अस्तव्यस्त भएपछि कसरी हुन्छ विकास ? यसको जिम्मेवार को ? कसले गरिदिने यिनको अनुगमन ? अनि टाउकामा हात राखेर भन्न बाध्य बनाइन्छ, बिग्रिएको घरको भत्किएको चाला ।

औषधिको विवेकपूर्ण प्रयोग खै ?

विभिन्न अध्ययनलाई हेर्ने हो भने यहाँ औषधि खान नपाएरभन्दा औषधि खाएर मर्ने वा शरीरमा नकारात्मक असर पर्नेहरूको संख्या बढी पाइन्छ । कारण, औषधिको विवेकपूर्ण प्रयोग नहुनु, विनाचिकित्सकीय परामर्श प्रयोग गरिनु नै हो । आमजनमानसमा पैसा तिरेर औषधि किनेर खान पाउनु आफ्नो अधिकार हो भन्ने भ्रम पाइन्छ । परिणामस्वरूप चिकित्सकको सल्लाहविनै औषधिको खोल देखाएर, नाम भनेर, मोबाइलमा म्यासेज वा फोटो देखाएर फार्मेसीमा औषधि लिन आउनेको संख्या उल्लेख्य पाइन्छ । उनीहरूसँग चिकित्सकको पूर्ण सिफारिस नहुँदा सो औषधिको प्रयोग बिरामीका लागि आवश्यक हो वा होइन भन्ने नै सुनिश्चित हुँदैन ।

प्रेस्क्रिप्सनबिना औषधिको प्रयोग गर्नु हानिकारक

यति मात्र नभई प्रेस्क्रिप्सनविना बिक्री–वितरण गर्न नहुने कानुनी प्रावधानलाई अवलम्बन गर्दै विनाप्रेस्क्रिप्सन बिक्री–वितरण नगर्दा औषधि क्रेता झर्किने, झगडा गर्न तम्सिने तथा ‘मैले मागेपछि दिनोस् न, के फरक पर्छ ? औषधि मेरा लागि हो, मैले खाने हो, तपाईंलाई के मतलब ! असर गर्छ त मलाई गर्छ’ भन्नेजस्ता तर्क पेस गर्दै फर्मासिस्टलाई नै अप्ठ्यारो पार्ने किसिमका अभिव्यक्ति राख्नेहरू पनि हुन्छन् ।
अझ भनौँ, कतिपय बिरामी या तिनका आफन्त स्वास्थ्यकर्मीको सल्लाह लिन खोज्दैनन् वा दिएका सुझाबलाई समेत बेवास्ता गर्छन् । जसका कारण आफ्नो स्वास्थ्यलाई जोखिममा पारिरहेका हुन्छन् ।

हामी चिकित्सकको सल्लाहबिनै आफूखुसी वा हचुवाका भरमा औषधि प्रयोग गर्छौं । आफ्नो घर वा छिमेकको व्यक्तिलाई बिरामी पर्दा ल्याएको औषधि आफूलाई पनि त्यस्तै समस्या भएको त हो नि, किन जँचाउनुप¥यो, अनि किन सल्लाह लिइराख्नुप¥यो भन्छौँ र प्रयोग गर्छौं । त्यो औषधि आफूले प्रयोग गर्नुहुन्छ कि हुँदैन, त्यसको प्रयोगले आफ्नो स्वास्थ्यमा नराम्रो असर पो गर्छ कि ? भन्नेजस्ता कुरामा खासै ध्यान दिँदैनौँ । जसका कारण हाम्रो शरीरमा सामान्यदेखि जटिल समस्यासमेत नआउला भन्न सकिँदैन ।

अनावश्यक रूपमा एन्टिबायोटिकको प्रयोग

अनावश्यक एन्टिबायोटिकको प्रयोग गर्नु, औषधि पूरा मात्रामा सेवन नगरी बीचैमा छाड्नुजस्ता विभिन्न कारणले दिन–प्रतिदिन औषधिले काम गर्न छाड्ने नेपाललगायत विश्वकै प्रमुख समस्या बनिरहेको छ ।

बच्चा जन्मेदेखि नै हाई डोजको एन्टिबायोटिक्स प्रयोग गर्ने त संस्कार नै बनिसकेको छ । ‘मेरो बच्चालाई एन्टिबायोटिक नचलाई सन्चै हुँदैन’ प्रत्येक आमा–बाबुको मुखबाट सुन्न सकिन्छ । यसले भविष्यमा आफ्नो बच्चालाई कस्तो असर गर्ला ? आमा–बाबुलाई थाहै छैन । औषधिको अन्धाधुन्ध प्रयोग गर्दै जाने हो भने औषधिले बिस्तारै काम गर्न छाड्दै जाने र नयाँ प्रभावकारी औषधि बन्न नसकेको खण्डमा स्वास्थ्य क्षेत्रमा संकटकाल नआउला भन्न सकिँदैन । यसतर्फ फर्मासिस्ट, चिकित्सक, अन्य स्वास्थ्यकर्मी, उपभोक्ता र सबैजना सचेत बन्नु आवश्यक छ ।

गैरकानुनी रूपमा फार्मेसी सञ्चालन

विनादर्ता फार्मेसी सञ्चालन गरिनु, दर्ता भएकाको पनि आफ्नो लाइसेन्स नहुनु, औषधि बिक्री–वितरण गर्दा फर्मासिस्ट उपस्थित नहुनुजस्ता थुप्रै अवैधानिक गतिविधि सञ्चालन भइराख्दा र विभिन्न कानुन हुँदाहुँदै समेत औषधि व्यवस्थाको जिम्मेवारी लिएर बसेको औषधि व्यवस्था विभाग ‘म पिटेझैँ गर्छु, तँ रोएझैँ गर’ भनेजस्तै गरेर बसेको छ । यो लाचारीपन कहिलेसम्म हाबी रहने ? फार्मेसीलगायत स्वास्थ्य क्षेत्रको समग्र विकासमा सम्बन्धित निकायको समयमै ध्यान पुगोस् ।

औषधिको सही तरीकाले प्रयोग कसरी गर्ने ?

औषधिको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा, उचित मूल्यजस्ता कुरा भुल्नु हुँदैन । उपचारका क्रममा हरेक औषधिको आ–आफ्नै सेवन तथा प्रयोग विधि हुन्छन्, तर विडम्बना ! त्यो औषधि कतिबेला, कसका लागि, कति मात्रामा, कसरी सेवन गर्ने भन्नेजस्ता स्तरीय निर्देशनलाई समेत पालना नगरी आ–आफ्नै तरिकाले जसरी मन लाग्यो, त्यसैगरी प्रयोग गर्ने परिपाटी बढ्दै गएको पाइन्छ । जसको प्ररिणामस्वरूप स्वास्थ्य क्षेत्रमै ठूलो संकट नआउला भन्न सकिन्नँ । त्यसकारण औषधिको सही र विवेकपूर्ण प्रयोगतर्फ सम्बन्धित सम्पूर्ण निकायले समयमै ध्यान पु¥याउनु जरुरी छ ।

(लेखक पाठक भरतपुर केन्द्रीय अस्पतालमा कार्यरत छन्)

प्रतिक्रिया
नागरिक मिरर