काँग्रेस धनुषाको सभापतिमा पजियार विजयी

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन् । दोश्रो चरणको निर्वाचनबाट विमलेन्द्र निधि समूहबाट पजियार विजयी भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादवलाई पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन्।

शुक्रबार अबेर राति आएको मतपरिणामअनुसार पजियारले यादवलाई ६८९ मतले पराजित गरेका छन्।

कूल खसेको २ हजार ८१४ मतमध्ये पजियारले १ हजार ७३५ र यादवले १ हजार ४६ मत प्राप्त गरेका छन् भने ३३ मत बदर भएको सहायक निर्वाचन अधिकृत रामगुलाम कर्णले जानकारी दिए । ३ हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ८१४ मत खसेको थियो।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि प्रत्याशीले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा पजियार र यादवबीच प्रतिस्पर्धा भएको हो।

पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो।

पहिलो चरणको निर्वाचनमा निधिनिकट पजियारले सर्वाधिक मत ल्याउँदा यादव दोस्रो स्थानमा थिए। तेस्रो सर्वाधिक मत ल्याउने नेता शेखर कोइरालानिकट दिनेश प्रसैला दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

दोस्रो चरणको निर्वाचनमा प्रसैलाले निधि समूहका पजियारलाई समर्थन गर्ने घोषणा गरेका थिए।

दोस्रो चरणको निर्वाचनमा पजियारले निधिका साथै पूर्वमन्त्री रामकृष्ण यादव र कांग्रेस केन्द्रीय सदस्य डा.चन्द्रमोहन यादवको साथ पाए।

उता देउवा समूहका उम्मेदवार यादवलाई सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको साथ थियो ।

प्रतिक्रिया
नागरिक मिरर