नेपालमा झन्डै ४० हजार क्षयरोगका बिरामी उपचार बाहिर,नियन्त्रणमा चुनौती बढ्दै

काठमाडौं । मार्च २४ का दिन विश्व क्षयरोग दिवश मनाइरहँदा नेपालमा भने क्षयरोग नियन्त्रणमा चुनौती बढ्दै गएको देखिएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा क्षयरोग पत्ता लागेका वार्षिक झन्डै ४० हजार बिरामीहरु उपचारको पहुँच बाहिर रहेका छन् । केन्द्रको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६ सय ७७ जना क्षयरोगका बिरामीहरु उपचारका लागि दर्ता भएका छन् भने क्षयरोगको उपचार सफलता दर ९१ प्रतिशत रहेको छ । जसमध्ये ६७ प्रतिशत पुरुष,३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिका रहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रममा ५ सय ६९ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ४ सय १८ जना बिरामीमात्र उपचारको दायरामा आएका थिए । यसरी अनुमानित औषधी प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको संख्या हेर्दा अझै चुनौती थपिएको राष्ट्रिय क्षय रोग केन्द्रका निर्देशक सञ्जय ठाकुरले बताए ।

ठाकुर भन्छन्,टीबी रोगको औषधि लगातार ६ महिनासम्म खानुपर्छ । धेरै बिरामीले एकदुई महिनामात्रै औषधि सेवन गरी स्वस्थ भएको महसुस गरी बीचमै औषधि छाड्दा रोग नियन्त्रण गर्न समस्या भएको हो ।

त्यस्तै नेपालमा बर्सेनि औषधि प्रतिरोधी क्षयरोगी अर्थात् औषधिले काम नगर्ने अनुमानित २२ सय बिरामी फेला पर्छन् ।

नेपाल औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको देशमध्ये एक हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि नै औषधि प्रतिरोधी क्षयरोगीको उच्च प्रकोप भएका ३० देशको सूची समावेश गरेको छ ।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स २०७४/७५ ले नेपालमा गरिएको सर्वेक्षणमा नयाँ र पुराना गरी क्षयरोगका १ लाख १७ हजार बिरामी थपिने गरेका छन् । यस्तै, क्षयरोगका नयाँ बिरामी बर्सेनि ६९ हजारको हाराहारीमा थपिने गर्छन् । यो रोगबाट वर्षमा १६ हजार जनाको मृत्यु हुने अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग अन्त्यको लक्ष्य प्राप्तका गर्न क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको दिशा निर्देश र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनितिक योजना २०७८/७९ देखि २०८२/८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोग नियमित उपचारले निको हुने रोग भए पनि वार्षिक १५ लाख मानिसको मृत्यु यही रोगका कारण हुने गर्छ । संसारभरि करिब ९९ लाख मानिस क्षयरोगबाट पीडित छन् । जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका छन् ।

प्रतिक्रिया