सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

सर्लाही । सर्लाहीको लालबन्दीमा बुधबार राती भएको कार दुर्घटनामा एक जनाको मृत्यु र पाँच जना घाईते भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिकाको कालिञ्जोर पुल छेउमा दुर्घटना हुँदा चालक भारतीय नागरिक सीतामढी जिल्ला बयलडाबड धनुषी २ निवासी २२ वर्षीय नवीन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक यादवलाई उपचारका लागि गढिमाई अस्पताल लालबन्दी ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

दुर्घटनामा मृतक चालककै गाउँका २७ वर्षीय अतुल कुमार, १९ वर्षीय उमेश भन्ने दिवयान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय बजरङ्गी भन्ने शौरव यादव र भारत मुजफ्फरपुर रामनगर १ बस्ने २५ वर्षीय अजित यादव घाइते भएका छन् ।

उनीहरुमध्ये २७ वर्षीय अतुल कुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाँचै जना घाइतेको गढिमाई अस्पतालमै उपचार चलिरहेको छ ।

भारतको सोनवर्षाबाट नेपाल भित्रिएको कार नवलपुर हुँदै पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बीएम १५३७ नम्बरको भारतीय कार बुधबार राती करिब ९ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रहरीले अत्यन्तै तीव्र गतिका कारण नियन्त्रण गुमाएर कार दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । पूर्वतर्फ गइरहेको कार विपरीत लेनमा सडकबाट दक्षिणतर्फ १० फिट तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले बताए ।

घाइतेहरुले मृतक चालकको आफन्त कहाँ जाँदै गर्दा दुर्घटनामा परेको बताएपनि कार कहाँ जाँदै गरेको थियो भन्ने प्रष्ट नभइसकेको र यस सम्वन्धमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
नागरिक मिरर