प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल एयरलाइन्सको उडानमार्फत शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेको हो।

उनी चार मन्त्रीसहितको टोली लिएर भारतको औपचारिक भ्रमणमा निस्किएका हुन्। देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी छन्। सरकारले प्रधानमन्त्री देउवाले ३ दिनसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको छ। ​

प्रतिक्रिया
नागरिक मिरर