सत्ता गठबन्धनको उमेदवारहरूलाई जिताउन अनुरोध [वक्तव्य सहित]

काठमाडौं । सोमबार बसेको सत्ता गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले उम्मेद्वारलाई जिताउन आह्वान गरेका छन् । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त वक्तव्य जारी गरेका हुन् ।

सत्ताघटकका शीर्ष नेताहरुले वक्तव्यमा देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न समेत सुझाएका छन् । वक्तव्यमा नेताहरुले परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तनका विरुद्ध रहेर षडयन्त्र गरिरहेकोले सचेत हुन आग्रह गरिएको छ ।

‘देशको संविधानको उल्लंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास हो’, संयुक्त वक्तव्यमा उल्लेख छ ।

परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको पनि वक्तव्यमा बताइएको छ । पाँच दलले लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका हुन् ।

साथै त्यसका लागि देशै भर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आह्वान गरिएको छ । उनीहरुले स्थानीय तहको निर्वाचन सफल पार्न पाँच दलीय गठबन्धनका उमेदवारहरूलाई मत दिएर विजयी बनाउन जनतामा अनुरोध गरेका छन् ।

त्यस्तै वक्तव्यमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।

हेर्नुहोस् पुरा वक्तव्य

प्रतिक्रिया
नागरिक मिरर